विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह


२६ बैशाख २०७९, सोमबार
sirjana shingh

काठमाडौं । गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी नगर प्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताएकी छन् ।

आइतबार यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगर प्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौं महानगरलाई अगाडि बढाउने बताइन् । ‘काठमाडौँ महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु’, उनले भनिन् । काठमाडौंलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उनको भनाइ छ ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

उन ले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने समेत बताइन् । ‘महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौँ र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु’,  उनले भनिन् ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूणर् योगदान रहेको बताउँदै काठमाडौं महानगरपालिकामा सिंहको जित नै लोकतन्त्रको जित भएको बताए । उनले काठमाडौं महानगरपालिकाले एक सक्षम र योग्य महिला उम्मेदवार पाएको भन्दै उनलाई जिताउनका लागि सबै लाग्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७