म प्रमाणित मान्छे हुँ, काठमाडौंलाई बनाउन सक्ने कला मसँग छ : केशव स्थापित

‘भिजन’ भएका युवा मेरो टिममा आउनुस्


२६ बैशाख २०७९, सोमबार
Keshav 2 scaled


काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार केशव स्थापितले आफू विजयी भए योजना भएका मानिसहरूलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताएका छन् ।

आज सोमवार न्युज एजेन्सीसँगको कुरा गर्दै उनले हरेक क्षेत्रमा काम गर्नका लागि भिजन भएकाहरूको आवश्यकता पर्ने भएको र त्यो योजना युवापुस्तामा मात्रै रहेकाले युवालाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने बताए ।
मेयरका उम्मेदवार स्थापितले युवामा पनि महिलाले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै उनीहरूलाई आफ्नो टिममा समावेश गरेर काम गर्ने उल्लेख गरे । उनले भिजन भएका युवालाई आफ्नो टिममा आउन समेत आह्वान गरे ।

उनले भने, ‘सबै ज्ञान भएका मान्छे बाहिर हुने र केही थाहा नभएका मान्छे टोलीमा हुनु हुँदैन, त्यसैले मैले युवा इन्जिनियर आउ भनेको छु । स्वास्थ्यको क्षेत्रमा काम गर्ने मानिस आउ, मसँग भएका फोरममा आएर काम गर्ने यो पुस्ता हो । हाम्रो पुस्ताले काम लाग्दैन । हामीले वातावरण मिलाउनका लागि केही समय काम गर्ने हो । मलाई धेरै विश्वास भनेको युवामा छ । त्यसमाथि पनि महिलामा धेरै विश्वास छ । उनीहरू आएर आफ्नो खुबी देखाउन् । बराबरीभन्दा धेरै महिलाको सहभागिता चाहेको छु । म कैयौं कुरा सुधार गर्छु ।’

स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्ने बताए । अहिले भइरहेको कलेजको पढाइलाई केही परिवर्तन गरेर त्रिचन्द्रलाई स्तरोन्नति गर्ने उनको भनाइ थियो । कलेज पुनर्निर्माण गर्दा सबै पार्टीको अवधारणाअनुसार मिलेर काम गर्ने पनि उनले सुनाए । फोहर व्यवस्थापन गर्न नसक्दा काठमाडौंको सुन्दरता नै खलबलिएको स्थापितले बताएका छन् ।

स्थापितले काठमाडौं महानगरपालिकाभित्रका केही सांस्कृतिक सम्पदाहरू लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाको एकै पटक जग हालेर काम सुरु गर्ने दावी गरे । उनले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिसापिसाब गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मैले अहिले मानिसहरूले बिर्सिसकेका ४८ वटा मन्दिर छानेको छु । २०९० सालको भूकम्प गएपछि कसैले विषय नै उठाएको छैन । ती ४८ वटाको जग म एकै पटक हाल्छु । काठमाडौंमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरू बनाउँछु । शौचालय नबनाउने अनि पिसाब फेरे कारबाही गर्ने भन्ने हुन्छ ? मोटरसाइकल पार्किङ स्थल नबनाउने अनि पार्किङ गर्‍यो भनेर समात्ने हुन्छ ? सबै बनाउनु पर्छ नि । म यसबारेमा विभिन्न फोरम बनाएर काम गर्छु ।’

स्थापितले अहिले पनि दुई सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पत्ति पर्खाल लगाएर राखेकाले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताएका छन् । उनले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गरे । काम गर्न सरकारीतर्फबाट व्यवधान आए अदालतबाट न्याय खोजेर भए पनि काम गर्ने उनको प्रतिबद्धता छ । स्थापितले भने, ‘म प्रमाणित मान्छे हो । म पहिला काम गरेर देखाउँछु अनि सबैले भन्नेछन् यसले काम गर्छ भनेर । मैले मण्डला बनाएँ । राति चिसो केही नभनिकन आफैं उभिएर बनाएको हो । म काठमाडौंलाई बनाउन सक्छु । मसँग त्यो कला छ ।’

स्थापितले आफ्नो विज्ञ टिमले महानगरले ४८ अर्ब रुपैयाँ राजस्व उठाउन बाँकी रहेको पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७