चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या


२७ बैशाख २०७९, मंगलवार
water

सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यस वर्ष पनि खानेपानीको समस्या भएको हो ।

उत्तरी चुरे क्षेत्रमा खानेपानीका स्रोत सुक्न थालेका छन् । बस्तीमा खानेपानी अभाव भएको ईश्वरपुर नगरपालिका-१२ का रामबाबु थिङले बताए । ‘धारामा पानी आउन छाडेको धेरै भयो, कुवा सुक्न थालेपछि खानेपानीको समस्या भएको छ’, उनले भने ।

ईश्वरपुर नगरपालिका-१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालीन्जोर, लालबन्दी नगरपालिका-१५ को धुसेनी, देउराली, तिनघरे, लालबन्दी नगरपालिका- १२, १३ र १४ का अधिकांश बस्ती तथा हरिवन नगरपालिका-१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ । सुक्खा मौसम सुरु भएसँगै खानेपानीको समस्या देखिएको ईश्वरपुर नगरपालिका-१२ की जानुकी माया विकले बताइन् ।

चुरे क्षेत्रका बस्तीमा फागुनबाटै खानेपानीको समस्या हुने गर्छ । बढ्दो वन विनाश र उत्खननका कारण पछिल्ला वर्षमा खानेपानीका स्रोत सुक्न थालेका प्राविधिकले बताएका छन् । स्थानीय सरकारले यस्ता कार्य रोक्न कुनै पहल नगरेको स्थानीय तेज तामाङले बताए । ‘एक गाग्री खानेपानीको जोहो गर्न घण्टौ हिँडेर छिमेकी गाउँ पुग्नुपर्छ’, उनले भने, ‘गाउँमा एउटा मात्रै कुवा छ, पानीका लागि रातभर जाग्राम बस्नुपर्छ ।’

लालबन्दी नगरपालिका-१४, नारायणखोलाका जितबहादुर राना निर्वाचनका बेला यसो गर्दिन्छु उसो गर्दिन्छु भन्नेहरु त्यसपछि फर्किएर नआएको गुनासो गरे । ‘पशुचौपाया र मानिसले एउटै खोला, खोल्सी र कुवाको पानी खानुपरेको छ । दुषित पानी पिउँदा झाडापखालालगायत रोगबाट पीडित हुनुपरेको छ’, उनले भने ।

फागुनदेखि जेठसम्म चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको छ । लालबन्दी नगरपालिका-१२ भालुखोपका वीरबहादुर राना भन्छन्, ‘मुहान सुक्न थालेपछि धारामा पानी आउन छाडेको छ, एक गाग्री पानी भर्न घण्टाै कुर्नुपर्ने बाध्यता छ ।’ खानेपानीको अभाव टार्न बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी पुर्‍याउने प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७