स्थानीय निर्वाचन : खसेन अपेक्षाकृत मत, १८ पालिकाका ४४ केन्द्रमा स्थगन

विगत भन्दा बढी मत बदर हुनसक्छ : जियोक


३० बैशाख २०७९, शुक्रबार
butal 61652418772

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ ।

आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत तराई मधेसका कतिपय स्थानीय तहमा तुलनात्मकरूपमा कम मत खसेपछि कूल प्रतिशत बढ्न नसकेको हो । आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले अपेक्षा गरेभन्दा कम मत खसे पनि समग्रमा मतदान उत्साहजनक रहेको बताउँदै समग्र विश्लेषण भने आजै गर्न नमिल्ने बताए । आयोगले खडा गरेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र र निर्वाचन पर्यवेक्षण समिति (नियोक) को कल सेन्टरबाट निर्वाचनको अनुगमन गरेको थियो । आयोगबाट स्वीकृतिप्राप्त ६८ संस्थाका करिब ५० हजार पर्यवेक्षकले पठाएका प्रारम्भिक प्रतिवेदन पनि आयोगमा आउने क्रम जारी रहेको छ ।

साँझ छ बजेसम्मको विवरण अुनसार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको र राजनीतिक दल र उम्मेदवारले सानातिना विषयमा पनि विवाद झिकेर लोकतान्त्रिक उच्च संस्कार प्रदर्शनमा कमजोरी दर्शाएकाले ती स्थानमा स्थगन हुने स्थिति देखिएको उनले बताए ।

उनले कतिपय तहमा जसरी पनि जित्नु पर्छ र राज गर्न पाउनु पर्छ भन्ने सोच भएका दल र कार्यकर्ताका कारण स्थिति तनावग्रस्त भएको र मतदातालाई दुःख दिने कार्य भएकामा चिन्ता व्यक्त गर्दै भने, ‘यो लोकतन्त्रका लागि चुनौतीपूर्ण कुरा हो । यसमा सम्बन्धित दल, उम्मेदवार र कार्यकर्ता गम्भीर हुनैपर्छ । गल्ती गर्नेलाई कानूनबमोजिम कारबाही हुन्छ । अन्यथा त्यस्ता स्थानमा जति पटक निर्वाचन गरे पनि यस्ता समस्या देखा पर्न सक्छन् ।’

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको थियो । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवकहरु आ-आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा मतदाताले शान्तिपूणर् वातावरणमा निर्बाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिएर सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको थियो ।

विगत भन्दा बढी मत बदर हुनसक्छ : जियोक
निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्न समेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुनसक्ने सम्भावना रहेको जनाएको छ । जसका कारण उक्त मतपत्रको औचित्य र वैधतामाथि प्रश्न समेत उपस्थित रहेको पाइएको जियोकले उल्लेख गरेको छ ।

जियोकले आज एक विज्ञप्ति जारी गरी भनेको छ, ‘उम्मेदवारभन्दा मतपत्रमा चिह्न बढ्ता हुँदा मतपत्र अनावश्यकरूपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिह्नका बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सुसूचित र विवेकपूर्ण मत सङ्केत गर्न व्यवधान रहेको पाइयो ।’

उम्मेदवारहरु, ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिह्नका बारेमा निश्चित ढङ्गले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धति व्यापक र प्रभावकारी हुनुपर्नेमा त्यसको अभाव अति नै खड्किएको जियोकको निष्कर्ष छ ।

स्थानीय तहको आज भएको निर्वाचन छिट्पुट घटनाबाहेक आमरूपमा शान्तिपूणर् र सफलतापूर्वक सम्पन्न भएको मतदानमा अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता देखिएको र विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित र शान्त भएको विज्ञप्तिमा जनाइएको छ । जियोकले एकाध ठाउँमा बाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना नभएको जनाएको छ ।

‘मतदान केन्द्रमा दलहरुबीच विवाद पनि देखिएन । यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ सङ्केत भएको मान्न सकिन्छ’, जियोकको विज्ञप्तिमा उल्लेख छ । जियोकका अनुसार ३५ जिल्लाको २०० पालिकामा राष्ट्रियस्तरका ४०, जिल्लास्तरका ३० र स्थानीय तहका ३३० सहित पूर्व प्रधान न्यायाधीश, पूर्व प्रमुख निर्वाचन आयुक्त र पूर्व मुख्य सचिवहरुसहितको नौ विशेष पर्यवेक्षक गरी जम्मा ४०९ जनाको टोलीले दिएको प्रारम्भिक प्रतिवेदनअनुसार अधिकांश मतदान केन्द्रहरु बिहान ७ बजे नै सञ्चालनमा आएका थिए भने केहीमा ७:१५ देखि ७:४५ भित्र मतदान सुरु भएको थियो ।

कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरु तोकिएको समयमा नपुगेको केही स्थानमा सामान्य विवादसमेत भएको विज्ञप्तिमा जनाइएको छ । केही स्थानमा टाढाबाट आउनुपर्ने अवस्थाका मतदाता सवारी साधनको अनुपलब्धताले गर्दा मतदानबाट वञ्चित भएको, कतिपय मतदान केन्द्र आवतजावत गर्ने बाटो समेतका पूर्वाधार अभाव रहेको, केन्द्रसम्म मतदान गर्न आएकाहरु पनि विविध कारणले गर्दा (जस्तो परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात नभएको, परिचयपत्र भएको तर अर्को मतदान केन्द्रमा नाम भएको हुँदा हिँडेरै जान सम्भव नभएको, मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको) मतै नखसाली फर्कनु परेको अवस्था पाइएको विज्ञप्तिमा उल्लेख छ । जियोकले परिचयपत्रसम्बन्धी व्यवस्थालाई व्यवस्थित, त्रुटिरहित, विश्वसनीय र उपयोगी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक देखिएको जियोकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७