विवाद मिलेपछि धरानमा मतगणना शुरु, लौरोले रुखलाई १४७ मतले पछि पार्‍यो


५ जेष्ठ २०७९, बिहीबार
harka

धरान । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाको विवाद मिलाउन केन्द्रबाटै निर्णय गरिदिएको छ । हस्ताक्षर नगरिएको मतपत्र भेटिएपछि त्यसलाई सदर मान्ने अथवा बदर गर्ने भन्ने विवादका कारण बुधबार दिउँसो २ बजेदेखि मतगणना नै स्थगित भएको थियो । आयोगले हस्ताक्षर नगरिएको मतपत्र बदर हुने भन्दै त्यस्तो मतपत्र भेटिएका स्थानका मतदान अधिकारीलाई विभागीय कारबाही हुने निर्णय गरेको छ ।

वडा नम्बर २० को मतपेटिकामा हस्ताक्षर बिनाका १८ मत पाइएपछि देखिएको विवादका कारण स्थगित भएको धरानको मतगणना बिहानदेखि शुरु भएको छ । बिहान पौने ९ बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले वडा नं. ८, १२ र १९ को मतगणना भइरहेको छ । विवाद भएको २० लाई थाती राखेर अन्य वडाको गणना थालिएको जनाइएको छ ।

लौरो चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १४७ मतले पछि पारेका छन् । वडा नं. ८ को ३,९०० मतगणना गर्दा मेयरतर्फ साम्पाङले १,५२५ लोकप्रिय मत हात पारेका छन् । त्यहाँ रुखमा ८८७ मत खसेको छ । यस्तै सूर्यको पक्षमा ७८२ मत खसेको छ ।

२९ हजार ४६६ मतगणना हुँदा हुँदा मेयरमा हर्क साम्पाङले ८,५०९ मत ल्याएका छन् । ठूला दलहरूलाई नै चुनौती दिँदै अघि बढिरहेका साम्पाङले लोकप्रिय मत पाइरहेका छन् । उता गठबन्धनबाट कांग्रेसका किशोर राईको पक्षमा ८,३६२ मत परेको छ । यस्तोमा साम्पाङले १४७ मतको अग्रता बनाएका हुन् ।

नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६,८५८ मत ल्याएकी छन् । यस्तै, उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघाले ९,४३० र एमालेका पदम इश्वोले ९ हजार ७९ मत ल्याएका छन् । मतगणना शुरू भएयता साम्पाङ कहिले दोस्रो र कहिले तेस्रो बन्दै आएका थिए । तर अब उनले लगातार अग्रता बनाउन थालेका छन् । धरानमा एकातिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको महागठबन्धन छ । अर्कातिर २०७४ मा मेयर जितेको एमाले उभिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७