भारतमा दलाई लामालाई भेटेपछि काठमाडौं आइपुगिन् अमेरिकी उपमन्त्री जिया

यस्तो छ नेपालमा भेटघाटका कार्यक्रम


६ जेष्ठ २०७९, शुक्रबार
jiya 20220520153936

काठमाडौं । अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन् । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गरेकी थिइन् ।

जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुन् । नेपाल बसाईका क्रममा अमेरिकी उपमन्त्री जियाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ । अमेरिकी सरकारको तर्फबाट तिब्बती मामिला संयोजक जियाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पछिल्लो अवस्था र उनीहरुले खेपिरहेका समस्याको बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सन् १९९५ पछि नेपाल सरकारले तिब्वती शरणार्थीहरुलाई ‘शरणार्थी परिचय पत्र’ दिएको छैन । शरणार्थी परिचयपत्र नहुँदा नेपालमा रहेका तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभुत अधिकारबाटै बञ्चित हुँदै आएको नेपालमा रहेका शरणार्थीका अगुवाहरुले बताएका छन् । उपमन्त्री जियाले प्रधानमन्त्री देउवा लगायत नेपाली उच्च अधिकारीहरुसँगको भेटमा शरणार्थी परिचपत्र पत्र नपाएका तिब्बतीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन आग्रह गर्ने सम्भावना रहेका परराष्ट्र स्रोतले बताएको छ ।

उपमन्त्री एवं तिब्बती मामिला हेर्ने अमेरिकी संयोजक जिया नेपाल आउने समाचार सार्वजनिक भएपछि चीनले उनको भ्रमणलाई नजिकबाट नियालेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री खाणलाई भेटी अमेरिकी उपमन्त्रीको भ्रमणबारे चासो राखेकी थिइन् । गृह स्रोतका अनुसार, राजदूत यान्छीले नेपालले लिएको एक चीन नीतिको अडान कायमै रहनेमा आफं विश्वस्त रहेको गृहमन्त्री खाँणसँग भनेकी थिइन् । जवाफमा गृहमन्त्री खाँणले नेपाल-चीन सम्बन्ध र चीनको सुरक्षा मामिलामा आफू संवेदनशिल रहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७