घर फर्किए म्यादी प्रहरी


७ जेष्ठ २०७९, शनिबार
KaranTamrakar Dadeldhura RSS 06 MyagdiPra1

सुर्खेत । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदा भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार २९६ म्यादी प्रहरीको सामुहिक बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूणर् रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूणर् योगदान रहेको बताए । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

साथै उनले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्ने समेत विश्वास दिलाए ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूणर् रूपले सफल भएको धारणा राखे ।

म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रशिक्षक, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले प्रसंशापत्र समेत प्रदान गर्‍यो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ ।

पहिलो किस्तामा ४० दिनको रासन भत्ताबापत चार हजार २००, भ्रमण भत्ता एक हजार २०० र पोशाक भत्ताबापतको छ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता ३२ हजार ४०० कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ । बिदाइ कार्यक्रममा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७