बाँकेमा छ पालिकाको मत परिणाम : कांग्रेस ५, एमाले ४, माओवादी केन्द्र १ वटामा विजयी


७ जेष्ठ २०७९, शनिबार
DipakBohara Tulsipur RSS 04 matganana

बाँके । बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।

जिल्लाको विभिन्न स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा बढी पाँच पालिका जितेको छ । एकमा माओवादी केन्द्रले जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार पालिका जितेको एमालेले पालिकाको वडामा मात्रै चित्त बुझाउनुपरेको छ ।

बाँकेको राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । अन्तिम परिणाम घोषित हुन बाँकी कोहलपुर नगरपालिकामा कांग्रेस र नरैनापुरमा जसपा अग्रस्थानमा रहेको छ ।

राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार ११२ मत ल्याएर अध्यक्षमा र मनिषा सिंह थारुले १० हजार १३४ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । पौडेलका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले नौ हजार २९२ मत प्राप्त गरे भने एमालेका रामदास थारुले नौ हजार १२४ मत प्राप्त गरे ।

नौ वडा रहेको राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष-उपाध्यक्षमा मात्र जित हासिल गरेको छ । सो पालिकामा एमालेले पाँच, माओवादी केन्द्रले तीन र राप्रपाले एक वडामा जित निकालेको छ । डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी र शाहिदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । अध्यक्ष चौधरीले छ हजार २७२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले पाँच हजार १२५ मत प्राप्त गर्दा एमालेका सरोजकुमारी यादवले तीन हजार ७११ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा शाहिदाले पाँच हजार ८६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोले चार हजार ७५४ मत पाएका भने एमालेका शकिल खानले चार हजार १५८ मत ल्याउँदै तेस्रो स्थान कायम गरे । वडा रहेको सो पालिकामा एमाले दुई, जसपाले तीन र कांगे्रसले एक वडामा जित हासिल गरेको छ ।

नेपालगञ्ज उपमहानगरमा जसपा-कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गरी विजयी भएका छन् । उनले एमालेका पशुपति दयाल मिश्रलाई झण्डै दोब्बर मत अन्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् । मिश्रले ११ हजार ६७५ मत ल्याएका छन् । राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९५ मत ल्याई तेस्रो स्थानमा रहे । नेपालगञ्जलाई राप्रपाको गढको रुपमा परिभाषित गरिए पनि अहिले त्यो वर्चश्व कायम हुन सकेन ।

उपप्रमुखमा गठबन्धनबाट जसपाका कमरुद्दीन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत ल्याएर दोस्रो र राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत प्राप्त गरिन् । २३ वडा रहेको नेपालगञ्जमा उपप्रमुखसहित छ वडा जितेर जसपा पहिलो पार्टी, मेयरसहित पाँच वडा जितेर कांग्रेस दोस्रो, पाँच वडा जितेर एमाले तेस्रो, चार वडा जितेर माओवादी केन्द्र चौथो र तीन वडामा जित निकालेर राप्रपा पाँचौं स्थानमा पुगेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा कुल मतदाता संख्या ८१ हजार ७९४ रहेको छ । त्यसमा कूल ६१ हजार २०५ मत खसेको थियो । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफान अध्यक्षमा विजयी भएका छन् । उनले १० हजार ७९० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लले नौ हजार १३७ मत प्राप्त गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लले १० हजार ३४ मत प्राप्त गरी विजय हासिल गरिन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी तजरुन निशाले आठ हजार ९१ मत प्राप्त गरिन् । आठ वडा रहेको खजुरामा माओवादी केन्द्रले चार, कांगे्रस तीन र एमालेले एक वडा जितेको छ ।

जानकी गाउँपालिकामा नेपाली कांग्रेसका छब्बन खाँले छ हजार ६५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमांशु यादवले चार हजार ७९५ मत ल्याए । उपाध्यक्षमा नेपाली काँग्रेसकी रामप्यारी यादवले छ हजार ६०९ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रातिस्पर्धी एमालेकी भूमिसरा धितालले तीन हजार ४५६ मत प्राप्त गरिन् । धिताल निवर्तमान उपाध्यक्ष हुन् । छ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले एक, जसपाले दुई, कांग्रेसले तीन वडामा जित हासिल गरेको छ ।

जिल्लाको वैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाश शाहले १२ हजार १८० मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रातिस्पर्धी एमालेका घननाथ खनालले १० हजार ३८२ मत प्राप्त गरे । माओवादी केन्द्रका दीपेन्द्र शाहले पाँच हजार २१४ मत प्राप्त गरे । वैजनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका निर्मला रोकायले १२ हजार १५२ मत प्राप्त गरी विजयी भइन् । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी प्रेमपूणर्ा योगीले १० हजार ७३३ मत ल्याएका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७