श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


१० जेष्ठ २०७९, मंगलवार
thumb 14

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । आज (मंगलबार) बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो । प्रस्तावित राजदूतद्वय राय र मिश्रविरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । समितिका सभापति लक्ष्मणलाल कणर्ले मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत रूपमा राजदूतको नाम अनुमोदन गरेको बताए ।

‘हामीले लामो समयदेखि २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिरहेका थियौं । समितिले दिनरात नभनी काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रूपबाट छलफल गरेका छौँ । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा. रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदूतलाई सर्वसम्मतले अनुमोदन गरेका छौं’, उनले भने । समिति सभापति कणर्ले मिश्र र रायविरुद्ध परेका उजुरीबारे गहन छलफल गरेर अनुमोदन गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७