बञ्चरेडाँडामा फोहोर विसर्जन विवादले झडप, २० जना बढी पक्राउ


२४ जेष्ठ २०७९, मंगलवार
banchare danda

काठमाडौं । प्रहरीले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

धुनिबेंसी नगरपालिका-१ र ककनी गाउँपालिका-३ का क्षेत्रमा प्रहरीले धरपकड गर्दै अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । प्रहरीले २० भन्दा बढी स्थानीयलाई नियन्त्रणमा लिएको सरोकारवाला समितिका उपाध्यक्ष सन्नोत उप्रेतीले बताएका छन् । घटनास्थलमा रहेका उप्रेतीले भने, ‘हामीले प्रहरीलाई शान्तिपूणर् आन्दोलन गरेका हौं दमन गर्ने कोशिस नर्गनुहोस् भन्दाभन्दै उहाँहरु हामीले धर्ना दिइरहेको ठाउँमा आएर धरपक्कड गर्न थाल्नु भयो । महिलामाथि हातपात भएको छ, कसैको लुगा च्यातिएको छ । बुढापाकलाई लात्तीले हानेका छन् ।’

प्रहरीले घरघरमै पुगेर स्थानीयवासीलाई लाठी प्रहार गरिरहेको पीडितहरुले बताएका छन् । उनीहरुले सडकमा हिँडिरहेकाहरुलाई पनि प्रहरीले बल प्रयोग गरेको उप्रेतीले बताए । धुनिबेंसीको कुरुले क्षेत्र र नुवाकोटको बञ्चरेडाँडा क्षेत्र अहिले तनावग्रस्त रहेको उनले बताएका छन् । अहिले पनि भिरपाखामा प्रहरी र युवाहरुबीच झडप भइरहेको उनले जानकारी दिए ।

‘हामीले सम्बन्धित मानिसहरु आऊ, हिजो भएको सहमतिबारे हामीलाई बुझाऊ, हाम्रो माग पूरा गर भन्दा उल्टै हामीलाई तिमीहरुको जनप्रतिनिधिहरुले निणर्य गरेको भन्दै आक्रमण गरे’, उप्रेतीले भने, ‘हाम्रो माग धेरै ठूलो पनि हैन, फागुन २६ गतेको निणर्य कार्यान्वयन गर मात्रै भनेका हौं ।’
सरोकारवाला समितिका अध्यक्ष श्रीराम ढुंगानासहित केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटका एसपी रामप्रकाश साहले सिसडोलको अवरोध खोलिएको जानकारी दिए । ‘सिसडोलको अवरोध हटाइएको छ त्यहाँबाट सवारी साधनहरु बन्चरे डाँडातर्फ लागेका छन्’, एसपी साहले भने, ‘वर्षाका कारण सडक हिलाम्मे भएकाले केही समय लाग्न सक्छ ।’ अहिलेसम्म १४ जनालाई मात्रै नियन्त्रणमा लिइएर कटुन्जे पुलमा राखिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७