एआइजी पोखरेलको विदा आईजी सिंहले गरे अस्वीकृत, तत्काल हाजिर हुन निर्देशन


२५ जेष्ठ २०७९, बुधबार
igp

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् ।

आईजीपी नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै एक महिने बिदा दिएर सर्वोच्च अदालत गएका पोखरेलको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका थिए । पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए ।

आईजीपी सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका हुन् । प्रहरी प्रवक्ता विष्णु केसीका अनुसार बिदा अस्वीकृतको जानकारी पठाएको बताए । आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ गतेदेखि बिदामा थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले थप १० दिनका लागि मागेको बिदा आईजीपी सिंहले अस्वीकृत गरिदिएका हुन् । थप १० दिन बिदा माग्दै मंगलबार हेड क्वार्टरमा पठाइएको पत्र आईजीपी सिंहले अस्वीकृत गर्दै तत्काल हाजिर हुन लिखित निर्देशन दिएका छन् ।

आफैंविरुद्ध मुद्दा लड्न पोखरेलले थप १० दिन बिदा माग्दै दिएको निवेदन आईजीपी सिंहले अस्वीकार गरिदिएपछि अब पोखरेललाई कि हाजिर हुन कि राजीनामा दिनुपर्ने दबाब बढेको छ । आईजीपीको निर्देशनअनुसार अब पोखरेलले विभागी कारबाहीबाट जोगिनका लागि प्रहरी प्रधान कार्यालयमा हाजिर हुनुपर्ने छ ।

यदि आईजीपीको निर्देशन अवज्ञा गर्दै हाजिर नभएमा पोखरेलले विभागीय कारबाहीका लागि तयार हुनुपर्ने अवस्था आएको छ । उनी हालैको मन्त्रिपरिषद् बैठकको निणर्यअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका छन् । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका विश्वराजको मुद्दा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७