जनक शिक्षा सामग्री खारेज गरौं, किताब छाप्न निजीलाई दिऊ : सांसद नवीना लामा


२६ जेष्ठ २०७९, बिहीबार
Nabina lama

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गरी किताब छाप्ने जिम्मा निजीलाई दिनुपर्ने प्रस्ताव गरेकी छन् ।

प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा बोल्दै उनले किताब छाप्ने आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग गरेकी हुन् ।

‘कक्षा ६ र ८ को पुस्तक अभाव छ, किन पुस्तकको अभाव भयो, जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन्’, अनेरास्ववियुकी पूर्व अध्यक्ष समेत रहेकी सांसद लामाले भनिन्, ‘यदि पुस्तक छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’

उनले जनक शिक्षाले पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षाका उच्च व्यवस्थापकले जिम्मेवारी दिनुपर्ने बताइन् । ‘यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनु पर्दैन ? उहाँहरू जवाफदेही बन्नु पर्दैन ?’, लामाले भनिन्, ‘बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ ।’ उनले वैकल्पिक व्यवस्थाबारे सोचेर निजीलाई दिनुपर्ने र समयमा पाठ्यपुस्तक पठाउनुपर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७