खारा-खाम्ला सडक मार्ग खुल्यो, चार घण्टाको यात्रा एक घण्टामा छोटियो


३१ जेष्ठ २०७९, मंगलवार
chatlang road
फाइल फोटो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ खाराबाट धवलागिरि गाउँपालिका-४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ । धवलागिरि गाउँपालिका, म्याग्दीखोलामा निर्माण हुन लागेका जलविद्युत् आयोजना, प्रदेश र सङ्घीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दूरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन् ।

म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ मेगावाट क्षमताको अपर म्याग्दी-१ र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । जलविद्युत् आयोजना निर्माणस्थलमा ढुवानी र आवतजावतका लागि निर्माण भएको सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ ।

धवलागिरि गाउँपालिका-खिवाङका किसान पुनले खारा-खाम्ला सडक निर्माण भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने खाम्ला, खिवाङ, चेचुङ, नाउरा, बगरका बासिन्दाका साथै धवलागिरि हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई पनि सुविधा पुगेको बताए ।

यसअघि खिवाङबाट खारा हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न तीनदेखि चार घण्टा लाग्ने गरेकामा यात्रा अवधि एक घण्टामा छोटिएको छ । शिवरात्रि, बाँसबोट, खारालगायतका स्थानमा अक्करे भिरको चट्टान फुटाएर सडक बनाइएको छ । आवतजावत, ढुवानी, जडीबुटी र स्थानीय कृषि तथा पशुजन्य उत्पादन निकासीमा सहज भएको स्थानीयवासीले बताएका छन् ।

धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले वर्षौँअघि निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनालाई गति दिन पहल र सहजीकरण गरिएको बताए । खाम्लामा पुगेको सडकलाई खिबाङ पुर्‍याउन पालिका र प्रदेश सरकारको रु एक करोड ३३ लाख बजेटमा मार्ग खोल्ने काम भइरहेको पनि उनले बताए ।

गाउँपालिकाको केन्द्र मुनाबाट मुदी पुगेको सडकलाई विस्तार खिवाङ र मुदीको सिमानामा लगिएको छ । अपर म्याग्दी-१ को बाँध निर्माणस्थल नजिक पुगेको सडकलाई अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत् आयोजनाले विस्तार गरेर नाउरा-बगर हँुदै धवलागिरि आधार शिविर नजिकको दोभानमा पुर्‍याउन लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७