मनोज पाण्डेविरुद्ध दुई मुद्दा, १८ वर्ष कैद सजाय मागदाबी


१ असार २०७९, बुधबार
manoj pandey 1

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा दुई मुद्दा दर्ता भएको छ । आज (बुधवार) मानव बेचबिखन र बाल यौन दुर्व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई नशालु पद्धार्थ खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको छ ।

मानव बेचबिखन मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा अधिकतम ३ वर्ष कैद सजाय गर्न मागदाबी गरिएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले जानकारी दिएका छन् । कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा किशोरीलाई नशालु पद्धार्थ खुवाएर बलात्कार गरेको पीडितको आरोप छ ।

पाण्डेविरुद्ध एक नाबालिगले यौन दुर्व्यवहारको जाहेरी दिएकी छिन् । बिहीबार अदालतमा बयान पछि पाण्डेको मुद्दामा थुनछेक बहस शुरु हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७