श्रीमान-श्रीमतीले नै घरमा आएका पाहुनाको गरे हत्या


२० असार २०७९, सोमबार
dskmdgm1656848304 1

झापा । झापामा घरमा आएका एक व्यक्तिको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । भारतीय नागरिक ४० वर्षीय जपडीया नरेशकुमार बाबु भाइको हत्या आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

यही असार १२ गते साँझ झापाको अर्जुनधारा नगरपालिका-४ स्थित जुकेखाडी-साहसी टोलको भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र उनको शव फेलापरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा- ७ की ३२ वर्षीया जानुका सुवेदी थापा, सोही ठाउँ बस्ने ४९ वर्षीय विनय भनिने बृखबहादुर थापा र सुनसरीको बराहक्षेत्र नगरपालिका-१० का २५ वर्षीय सुरेश परियार छन् ।

जसलाई घर बनाउन पाँच लाख दिए उनैबाट मारिए
प्रहरीका अनुसार ०७६ मंसिरमा जानुका कामको सिलसिलामा नेपालबाट भारतको दिल्ली गएकी थिइन् । उनी त्यहाँ दुई महिना बसेपछि गुजरातमा गएर डेढ महिना बसिन् । त्यही क्रममा जानुकाको जपडीयासँग भेटघाट र चिनजान भयो ।

उनै भारतीयले जानुकालाई ०७६ साल फागुन अन्तिम साता भारतको पानीट्यांकीसम्म ल्याएर छाडेका थिए । ०७६ साल चैतमा जपडीयाले जानुकाका छोराछोरीहरूका लागि खेलौना तथा लत्ताकपडा समेत भारतबाट नेपाल पठाएका थिए ।
जानुकासँगको सम्पर्कपछि उनी पटक-पटक मोरङको विराटनगर आउने-जाने गरेको खुलेको छ । सोही क्रममा जपडीयाले जानुकालाई घर निर्माणका लागि पाँच लाख रुपैयाँ समेत दिएको पाइएको छ । ०७९ साल वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानीले अवैध भारतीय ५९ हजार रुपैयाँसहित ती भारतीयलाई पक्राउ गरेको थियो । उनी धरौटीमा छुटेका थिए । तारेख बुझाइरहेका थिए ।

दुर्व्यवहार गरेपछि बन्यो हत्या योजना
प्रहरीका अनुसार गएको जेठमा जपडीया तारेखका लागि भारतबाट अर्जुनधारा-७ स्थित जानुकाको घरमा आएका थिए । उनी त्यहाँ तीन दिन बसेर फर्किएका थिए । तर, त्यहाँ बस्दा जानुकाको श्रीमानको अगाडि जपडीयाले दुर्व्यवहार गरेपछि श्रीमान-श्रीमती दुवैले उनको हत्या योजना बनाएका थिए ।

जपडीया फेरि भारतबाट असार ७ गते तारेखकै लागि जानुकाको घर आए । सो राति जानुकाकै घरमा बसेपछि उनी तारेखका लागि सुनसरीको इटहरी गई सोही दिन दिउँसो साढे २ बजे घरमा फर्किएका थिए ।

जपडीयालाई मार्ने योजनाअनुसार सुरेश परियार, अर्को एक जना मानिस, जानुका र बृखबहादुरका बीचमा हत्या गरेपछि पाँच लाख रुपैयाँ दिने सहमति भयो ।

असार ८ गते सुरेश जानुकाको घरमा आई बसेको र ९ गते बिहान योजनाअनुसार अर्का एक जना मानिस समेत उनको घरमा आए । ९ गते जपडीया इटहरीबाट आफ्नो तारिखमा उपस्थित भएर जानुकाको घर फर्केपछि योजना मुताबिक साँझ जपडीया, सुरेश र अर्का एकजना मानिससँगै बसेर मादकपदार्थ सेवन गरेको खुलेको छ ।

सोही राति साढे १० बजेको समयमा भुइँतलाको उत्तरतर्फको कोठाको ढोकामा उभिरहेका मृतकलाई सुरुमा सुरेशले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गर्दा उनी भुइँमा लडी फूलको गमलामा ठोक्किएका थिए । भुइँमा लडेसँगै सुरेशले उनको मुख थुनिदिई अर्का मानिसले घरमा रहेको फलामको माडतोलले निधारलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार शवलाई लुकाउन र घटनालाई ढाकछोप गर्ने नियतले बोराभित्र प्याक गरी बृखबहादुरले चलाउने गरेको प्रदेश नं १-०१-०१२ प ८१५० नम्बरको मोटरसाइकलमा सुरेश र अर्का एक जना मिलेर लिएर गई ह्युम पाइपभित्र राखेर फर्केको पाइएको छ ।

हत्यापछि जानुकाले सुरेशलाई सुरुमा २५ हजार रुपैयाँ र पछि पुनः एक लाख ७५ हजार रुपैयाँ गरी दुई लाख दिएको खुलेको छ । यस्तै, घटनामा संलग्न अर्को व्यक्तिलाई एक लाख दिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७