बाबुरामजीले गठबन्धन छोड्दिनँ भन्नु भएको छ : प्रचण्ड


३ श्रावण २०७९, मंगलवार
prachanda baburam 750

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको सम्बन्धमा बिहीबारसम्ममा टुङ्गोमा पुग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको प्रचण्डले जानकारी दिएका छन् । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए ।

‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउनेबारे अरु पार्टी सँग पनि कुरा गरौँ । पर्सीसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निणर्य सही भएको बताए । ‘कांग्रेसले सही निणर्य गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहीँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिनँ भन्ने छ बाबुरामजीको ।’

अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरे पनि गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिवद्धता गरेको पनि अध्यक्ष प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७