यातायातको सिण्डिकेट तोड्न सरकारले ल्यायो नयाँ निर्देशिका, व्यक्तिले रुट इजाजत नपाउने


१८ चैत्र २०७४, आईतवार
sindiket

काठमाडौं, १८ चैत : यातायात व्यवसायमा देखिएको एकाधिकार (सिण्डिकेट) तोड्न सरकारले नयाँ निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।
यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य भएको घोषणा गरेको हो । sindiket

यसअघिको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा रुट इजाजतका लागि स्थानीय यातायात समितिको सिफारिस चाहिने उल्लेख थियो । तर, समितिको यो सिफारिसले सिण्डिकेट बढेको भन्दै निर्देशिका संशोधन गरेको हो । संशोधित नयाँ निर्देशिका अनुसार अब रुट इजाजत लिन समितिको सिफारिस आवश्यक नपर्ने भएको छ । त्यस्तै कुनै व्यक्ति विशेषले अब रुट इजाजत लिन नपाउने भएका छन् । विभागले आइतबार सार्वजनिक गरेको निर्देशिकाको दफा ९ दशमलब ७ मा यातायात सेवाको नाम पञ्जिकृत गर्ने कार्यविधिबारे उल्लेख छ ।
कार्यविधिअनुसार अब कुनै व्यक्ति विशेषले सार्वजनिक सवारीको रुट इजाजत पाउने छैनन् । नयाँ निर्देशिका अनुसार अब कुनै संस्था वा कम्पनीले मात्रै यस्तो रुट इजाजत पाउने छन्, जसका लागि कम्तीमा ५ वटा सार्वजनिक सवारीसाधन भएको कम्पनी हुनुपर्नेछ । तर कम्पनीले भाडामा बस लिएर कम्पनी दर्ता गर्न पाउने छैन ।

विभागले नयाँ निर्देशिका जारी गरेलगत्तै अब कुनै संस्था वा कम्पनीले सोझै विभागमा गई रुट इजाजत लिन पाउने छन् । जसका कारण यातायात क्षेत्रमा रुट इजाजत नपाउने गरी भएको सिण्डिकेट खारेज छ । यसअघि अरनिको यातायात, मध्यपुर यातायात आदि स्थानमा सिण्डिकेट थियो । यो निर्दे्शिकासँगै अब ती स्थानका सिण्डिकेट तोडिएको छ । रुट इजाजतका लागि कम्पनीले यातायात व्यवस्था विभागमा निवेदन दिनुपर्नेछ । यसअघि रुट इजाजत प्राप्त गर्नका लागि व्यवसायी समितिमा दर्ता भई त्यहाँबाट सिफारिस ल्याउनुपर्ने थियो । ती स्थानमा अब कुनै नयाँ कम्पनी वा संस्थाले यातायात समितिको सिफारिस बिनै रुट इजाजतका लागि निवेदन दिन सक्नेछन् ।

सरकारले सुरक्षाको जिम्मा लिन्छ : महानिर्देशक

यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएसँगै यातायात क्षेत्रको सिण्डिकेट हटेको दाबी गरेको छ । कतिपय स्थानमा पूराना व्यवसायीले बिरोध गर्दै नयाँ समिति वा कम्पनीका सवारीसाधन सञ्चालनमा रोक लगाएकोप्रति इङ्गित गर्दै भट्टराईले भने ‘सुरक्षाको जिम्मा अब सरकारले लिन्छ, यातायातमा सिण्डकेट मिल्दैन ।’ यससँगै अब नयाँ व्यवसायीलाई यातायात सेवामा प्रवेश गर्ने बाटो खुल्ला भएको विभागले जनाएको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै अब संस्था वा कम्पनीमार्फत् जुनसुकै स्थानमा नयाँ रुट इजाजत लिन सक्ने दाबी गरे ।

रोजीरोटी खोस्न खोजियो : यातायात व्यवसायी महासंघ

यातायात व्यवसायी महासंघले भने विभागले जारी गरेको नयाँ निर्देशिकाबारे आफूहरुलाई जानकारी नभएको महासंघले जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले नयाँ निर्देशिकाप्रति आश्चर्य प्रकट गरेका छन् । सार्वजनिक यातायातमा निजी क्षेत्रको मात्रै लगानी रहेको भन्दै उनले आफूहरुलाई जानकारी नभएको बताए । उनले भने, ‘एकतर्फी रुपमा आएको निर्देशिका कार्यान्वयनमा आउन सक्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७