गृह जिल्ला पुगेका ओलीको प्रश्न : दमकमा हामी किन हार्‍यौं ? अरु दलका भरिया किन भयौं ?


१२ श्रावण २०७९, बिहीबार
KP Sharma Oli

झापा । गृह जिल्ला झापा पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्गृह नगर दमकको स्थानीय तह निर्वाचनको परिणामकाबारेमा प्रश्न राखेका छन् ।

केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओलीले आज (बिहीबार) आयोजित एक कार्यक्रममा एमाले कार्यकर्ताहरूसँग दमकमा हार्नुको कारणबारे जवाफ मागेका छन् । दमक नगर पार्टी कार्यलयमा अगुवा कार्यकर्तासँग बिहीबार अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले एमालेलाई एक ढिक्का बनाएर राष्ट्रिय राजनीतिको मियोका रुपमा स्थापित गर्ने अभियानमा आफू रहेको पनि बताए ।

‘यस पटकको निर्वाचनमा दमकमा विरोधीलाई फाइदा पुगेको छ,’ उनले भने, ‘विभिन्न रुपमा विरोधीलाई सघाउने काम भयो, हामी उनीहरुका भरिया मात्रै भएछौं ।’ ओलीले हारको कारण खोज्दै विरोधीलाई भोट दिएर जिताइसकेपछि उसको झण्डा बोकेर आफूलाई गरेको गाली सहनुपर्ने अवस्था आउने बताए ।

उनले अर्कालाई जिताएर आफैँ अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन पनि दिए । ‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो’ ओलीले भने, ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो, नेतृत्व गर्ने हो ।’ सबै नेता-कार्यकर्तालाई पार्टीको सिद्धान्त र नीति बुझ्न उनले आग्रह गरे । उनले स्थानीय तह निर्वाचनको गल्ती अब नदोहोरिने गरी पार्टी काममा होमिन पनि गृहनगरका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७