साढे १० लाखको गहनासहित युवक पक्राउ


२१ श्रावण २०७९, शनिबार
gold chori ZsGw5uYVkw

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट चोरिएका झण्डै साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय लक्ष्मण विकको पसलबाट चोरिएका सुनचाँदीका गहनासहित प्रहरीले चतराकै २६ वर्षीय अनिल बराइलीलाई पक्राउ गरेका हो । शुक्रबार राति-एक तलाको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय (चतरा) र इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) बाट प्रहरी टोली खटिएको थियो ।

घटना अनुसन्धानका क्रममा शुक्रबार राति साढे २ बजे शंका लागेर स्थानीय अनिल बराइलीको घरभित्र खानतलासी गर्दा प्रहरीले चोरिएका सुनचाँदीका गहना बरामद गरेको हो ।

बराइलीले दराज पछाडि कालो झोलामा लुकाएर राखेको अवस्थामा चोरीका सुनका गहना ६ तोला ८३ लाल र चाँदीको गरगहना २९७ तोला बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद गहनाको मूल्य १० लाख ४० हजार ५९० रुपैयाँ अनुमान गरिएको प्रहरीले जनाएको छ । चोरिएका सुनका गहनासहित बराइलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) ले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७