सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला


२३ श्रावण २०७९, सोमबार
gathabandan karyadal

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गर्न बनेको कार्यदलको संयोजक बनेका छन् ।

समितिको आज (सोमबार) बसेको पहिलो बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । नेकपा (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।

जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
वैठकमा सहभागी एक नेताले आजको बैठकमा प्रारम्भिक छलफल भएको र कार्यदलको संयोजकमा कृष्ण सिटौलालाई चयन गरिएको बताउँदै भने भने, ‘कुन विधिमा जाने र कसरी जाने भन्नेबारे केही सुझाव प्राप्त भएका छन् । त्यहीअनुसार अघि बढ्छौं ।’

बैठकमा स्थानीय तहमा जस्तो कहीं गठबन्धन त कहीं नगरी सबैतिर एकसाथ गठबन्धनअनुसार नै जाने सहमति बनेको ती नेताले जानकारी दिएका छन् । ‘स्थानीय तह निर्वाचनमा जस्तो नगरी यसपालिको गठबन्धन सबैतिर एकसाथ गर्ने समझदारी बनेको छ, सिट संख्याका विषयमा पार्टीभित्र छलफल गरेर अर्को बैठक २६ गते ४ बजे बस्ने र त्यहीं पेस गर्ने भन्ने भएको छ’, उनले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७