मनोहराको सुकुम्बासी बस्तीमा पस्यो बाढी, केही टहरा बगायो

वागमती-विष्णुमती नदीमा बाढी


२५ श्रावण २०७९, बुधबार
badi ktm.jpg .2021 09 07
फाइल फोटो

काठमाडौँ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ । त्यहाँका केही टहरा समेत बाढीले बगाएको प्रहरीले जनाएको छ ।

यस्तै मनोहरा खोला नजिक रहेका बंगुर तथा कुखुरा फार्म समेत बाढीले बगाएको छ । गए राति ठूलो वर्षासँगै आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन । त्यस क्षेत्रमा प्रहरी तथा उद्धार टोली खटिएका छन् । प्रभावितहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

वागमती-विष्णुमती नदीमा बाढी
काठमाडौ उपत्यकाका वागमती, विष्णुमतीलगायतका नदी, खोलाहरुमा बाढी आएको छ । वागमती छेउछाउमा सडकसम्म नै बाढी पसेको छ । हिजो बेलुकी परेको ठूलो पानीका कारण बाढी आएको हो । काठमाडौं उपत्यकाका पुण्यमति, हनुमन्ते, मनोहरालगायतका खोलाहरुमा पनि बाढी आएकाले आज बिहानसम्मै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै दैलेखको ग्वाँटी र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यस क्षेत्रमा बहने साना नदी तथा खोलामा बाढी र भिरालो क्षेत्रमा पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । राति पानी परेका अरु ठाउँमा पनि खोला नदीमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले काठमाडौसँग जोडिएको मुख्य राजमार्ग नौबिसे- मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सडकको अवस्था बुझ्न प्रहरीको सुझाव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७