बञ्चरेडाँडामा फोहोर लगिंदै, प्रहरी परिचालन


१ भाद्र २०७९, बुधबार
banchare danda
जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन् । फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले अवरोध गर्दै आएका छन्

काठमाडौँ । काठमाडौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका ट्रकहरु बाटोमै रोकिएका छन् । केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

स्थानीयको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा बञ्चरेडाँडामा फोहोर पुर्‍याइने उनले बताए । उनका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयको अवरोध कायमै छ ।

हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा एक जना घाइते भएका थिए । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धुनिबेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सडक मर्मतको काम पूरा नगरी फोहोर लैजान थालिएको र फोहोर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयले आन्दोलन गरेका हुन् ।

फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको वडा अध्यक्ष तामाङले बताए । यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको तामाङले बताएका छन् ।

स्थानीयको अवरोधकै बीच हिजो काठमाडौ महानगरपालिकाले १९० वटा गाडीलाई बञ्चेडाँडा पुर्‍याएको थियो । स्थानीयले अवरोध नगरे आज २५० वटा गाडी बञ्चरेडाँडामा पुर्‍याउने तयारी छ । लामो समयदेखि फोहोर नउठ्दा काठमाडौ उपत्यकामा दुर्गन्ध फैलिन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७