राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी


१ भाद्र २०७९, बुधबार
Gathbandhan Top five leader of nepal

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । 

बिहीबार बस्ने प्रतिनिधिसभाको संभवित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । 

प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ ।  यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ । 
सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुई वटा बाटा छन् । पहिलो– सदनमै पुनर्विचार गर्ने । दोस्रो– संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने ।

राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको संदेश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा  संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्नेछन् । 

नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

त्यसपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ । 

सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७