माओवादीमा २१ पदाधिकारी प्रस्ताव, महासचिवमा आधा दर्जन नेताको दाबी

शनिबार फेरि वैठक बस्ने


३ भाद्र २०७९, शुक्रबार
mao
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनमा सकस भइरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ पद प्रस्ताव गरेका छन् । अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव स्थायी कमिटी बैठकमा पेस भएको हो ।

शुक्रबारको बैठकले पदाधिकारी चयन गर्ने भने पनि महासचिवमै सात नेताले दाबी गरेका कारण टुंगो नलागेको बताइएको छ । माओवादीको विधानमा पदाधिकारीको संख्या प्रस्ट नभएकाले अध्यक्ष प्रचण्डले आफ्नो तजबिजमा नेता व्यवस्थापन गर्न २१ सदस्यीय प्रस्ताव गरेका हुन् ।

एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष एकएक जना हुनेछन् । उपमहासचिव ७ र सचिव ९ जना रहने प्रस्ताव आएको ती नेताले जानकारी दिएका छन् । अहिलेसम्म माओवादीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा चयन भइसकेका छन् ।

अब बाँकी नेताहरुको व्यवस्थापन महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा हुनेछ । कतिपय नेताले उपमहासचिवको संख्या घटाएर उपाध्यक्षको संख्या थप्न सुझावसमेत दिएका छन् । सिनियर नेताहरुको व्यवस्थापन गर्न उपाध्यक्ष पदको संख्या बढाउन सुझाव आएको एक स्थायी कमिटी सदस्यले बताए ।

माओवादीको महासचिवमा देव गुरुङको सम्भावना बढेको छ । यद्यपि हरिबोल गजुरेल, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतले पनि महासचिवमा दाबी गरेका छन् । आज (शुक्रबार) बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रुप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रुपले छलफल गर्‍यौं,’ महराले भने । पदाधिकारी चयनका विषयमा लगभग टुंगो पुगेको र शनिबार बस्ने बैठकले यसबारे निर्णय लिने महराले जानकारी दिए ।
भ्रातृ संगठन वाईसीएसलको भेलासहितका विभिन्न्न कार्यक्रममा सहभागी हुन नेताहरु जानुपर्ने भएकाले शुक्रबार पदाधिकारीका विषयलाई थाती राखिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७