रोकियो ‘भारत गौरव पर्यटक रेल’ धार्मिक यात्रा


११ भाद्र २०७९, शनिबार
Train

जनकपुरधाम । भारतीय पर्यटक बोकेर शनिबार दोस्रोपटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ अन्तिम समयमा स्थगन गरिएको छ ।

भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिकयात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए ।


जयनगर-कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि दोस्रोपटक ठूलो संख्यामा भारतीय पर्यटक लिएर आज दिउँसो जनकपुरधाम आउने कार्यक्रम थियो ।

भारतको राजधानी नयाँदिल्लीलगायत सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने सो रेलमा लक्ष्यानुसारको टिकट बिक्री नभएकोलगायत प्राविधिक कारण देखाउँदै सोबाट हुने भनिएको जनकपुरधामको धार्मिकयात्रा भारतीय रेल्वे कम्पनीले स्थगन गरेको महाप्रबन्धक झाले बताए ।

‘पहिलो पटक जस्तै दोस्रो पटक पनि भारत गौरव पर्यटक रेल ठूलो संख्यामा भारतीय पर्यटकलाई लिएर आउने खबरले हामी उत्साहित थियौँ’, झाले भने, ‘तर, अचानक यात्रा स्थगन भएको खबर पाएपछि दुःख लागेको छ ।’ भारतीय पर्यटकको धार्मिकयात्राले जनकपुरधामको धार्मिक, सांस्कृतिक र आर्थिक विकासमा टेवा पुगिरहेकाले यस्तै प्रकारको धार्मिकयात्राका लागि निरन्तर पहल जारी राख्ने उनको भनाइ थियो ।

रामायण सर्किटमा सञ्चालन हुने उक्त ‘भारत गौरव पर्यटक रेल’ पहिलोपटक गएको असार ९ गते करिब ६०० को संख्यामा भारतीय पर्यटक बोकेर आएको थियो । सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलमजस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्नेछ ।

सो रेलमा करिब ६०० को संख्यामा भारतीय पर्यटक बोकेर आउने र सो दिन पर्यटकले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको महाप्रबन्धक झाको कथन छ । उक्त रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोसाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत बहुरूपी झल्को देख्न सकिने चित्रहरू राखिएको छ ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवद्र्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित स्ट्याचु अफ युनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियलजस्ता आधुनिक संरचनाका तस्बिर सजाइएको बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७