भोजपुर छोडेर कतै जाँदिन, भुइँमै बसेर भए पनि भोजपुरे जनताको सेवा गर्छु : राजेन्द्र रार्ई


१२ भाद्र २०७९, आईतवार
Rajendra Rai 3

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) राजेन्द्रकुमार राईले आफ्नो जिल्ला भोजपुर छोडेर कुनै पनि जिल्ला उम्मेदवार बन्न नजाने बताएका छन् ।

एकीकृत समाजवादी सुनसरी कमिटीको शनिवार बसेको बैठकले सुनसरी क्षेत्र नम्बर–१ बाट मुख्यमन्त्री राईसहित तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यो सिफारिसँगै मुख्यमन्त्री राई भोजपुर छोडेर धरान झर्न लागेको चर्चा सुरु भएको थियो । तर मुख्यमन्त्री राईले आइतबार सामाजिक सञ्जाल मार्फत भोजपुर छोडर कतै नजाने प्रष्ट पारेका हुन् ।

मुख्यमन्त्री राईले मन्त्री वा सांसद केही नभए भुइँमै बसेर भए पनि भोजपुरे जनताको सेवा गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘ भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र बिश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना, सोच छैन । भोजपुरे जनताले माया र बिश्वास गरेसम्म म सांसद, मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु। त्यसैले सांसद, मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच, चाहना छैन।’

उनले लेखेका छन् :

मंसिर ४ गते हुन लागेको चुनावको लागि म राजेन्द्र राईको नाम म सम्लग्न रहेको पार्टिको तर्फबाट सांसद उम्मेदवारीको लागि मेरो गृह जिल्ला भोजपुरको अलवा सुनसरी क्षेत्र नम्बर १ बाट समेत सिफारिस भएको बारे केही कुरा प्रष्ट पार्न जरुरी ठानेको छु।

दुवै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको आफ्नो मुल्यांकन, चाहनाको आधारमा भएको हो। यसमा मेरो कुनै हात, इसारा, संकेत, माग, चाहना जोडिएको छैन।

म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधै मान्न पर्छ नै र अहिले खास उदेश्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ, गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ। त्यसैले उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु। गठबन्धनभित्र उछिनपाछिन गर्ने पक्षमा म छैन। नेताले चुनाव लड्नै पर्छ, सांसद बन्नै पर्छ भन्ने नि छैन, पार्टी र गठबन्धनले मलाइ उम्मेदवार नबनाउने निर्णय गर्यो भने म उम्मेदवार नबन्न तयार छु।

भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र बिश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०. १ प्रतिशत पनि चाहना, सोच छैन ।’ उनी थप्छन्,‘ भोजपुरे जनताले माया र बिश्वास गरेसम्म म सांसद, मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु। त्यसैले सांसद, मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच, चाहना छैन।

सजिलो देख्दा उछिनपाछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस म होइन। पार्टीको निर्देशन भयो भने जस्तासुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार छु , अप्ठ्यारो देखेर पन्छिन्छ की त्यस्तो कसैले नठान्नु होला।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७