७० जिल्लामा डेंगी : २,५३९ मा संक्रमण पुष्टि


१४ भाद्र २०७९, मंगलवार
dengu butwal

काठमाडाैं । देशका ७० जिल्लामा डेंगीको सङ्क्रमण फैलिएको पाइएको छ । अहिलेसम्म ७० जिल्लाका २,५३९ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षमा भन्दा यसपालि डेङ्गीको सङ्क्रमण फैलिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकणर् दाहालले जानकारी दिएका छन् । उनका अनुसार वागमती, लुम्बिनी र प्रदेश-१ का १० जिल्लामा डेङ्गीको सङ्क्रमण धेरै फैलिएको छ ।

सबैभन्दा धेरै वाग्मती प्रदेशको ललितपुरमा डेङ्गीका बिरामी धेरै छन् । अहिलेसम्म ललितपुरमा ८५८ जना सङ्क्रमित भएका छन् । अहिले काठमाडौको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुमा दैनिक ७० जनासम्म उपचारका लागि पुग्ने गरेका छन् ।

१७ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये चार जनाको आईसीयूमा उपचार भइरहेको छ । गएको वर्ष ५८ जिल्लामा डेङ्गी फैलिएको थियो भने त्यतिबेला डेङ्गीबाट पाँच सयको हाराहारीमा बिरामी परेका सरकारी तथ्याङ्क छ ।

२०७६ सालमा भने डेङ्गी फैलिएको थियो । त्यतिबेला १० हजारभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण भएको थियो । यसपालि पनि डेङ्गीको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण फैलिन थाले पछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय सरकारसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ ।

तर, डेङ्गी रोकथामका लागि यो मात्रै पर्याप्त नभएको डा.दाहालले बताए । डेङ्गीको सङ्क्रमण रोकथामका लागि व्यक्ति आफै सचेत हुनुपर्नेमा उनको जोड छ । डेङ्गी सङ्क्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो जातको लामखुट्टेले प्राय उज्यालोमा टोक्ने गर्छ भने सफा पानीमा फुल पार्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार एडिस जातको लामखुट्टे घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि बढी सक्रिय हुन्छ । त्यसैले यो समयमा बढी सचेत हुनुपर्छ । ज्वरो आउनु, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, बान्ता हुनु डेङ्गीका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ उपचारमा नगए गम्भीर स्वास्थ्य समस्या देखिने भएकाले बेलैमा अस्पताल जान डाक्टरको सुझाव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७