कैलाली-५ आरजुका लागि कति सजिलो ?


१६ भाद्र २०७९, बिहीबार
arju

धनगढी । कैलाली क्षेत्र नम्बर-५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली-५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले धनगढी-५ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेस जिल्ला कार्यसमितिले एकल उम्मेदवारी सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न कांग्रेसका युवा नेता क्षितिज भण्डारीले समेत निवेदन दिएका थिए । तर, उनको नाम भने कैलाली-५ को प्रदेशसभा ‘क’ बाट संघीय सांसदको उम्मेदवारी सिफारिसमा परेका छैन । २०७४ को निर्वाचनमा आरजु देउवा लडेको स्थान धनगढी उपमहानगरपालिकामा कांग्रेसले स्थानीय तहमा मेयर, उपमेयरसहित १२ वडा जितेको थियो । त्यतिवेला कैलाली-५ मा कांग्रेसलाई चुनाव जित्न सजिलो हुने अनुमान गरिएको थियो ।

तर, आरजु देउवा एमाले उम्मेदवार नारदमुनी रानासँग ४ हजार ८८० मतले पराजित भइन् । यस पटक धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् भने, उपमेयरसहित ६ वडामा नेकपा एमाले विजयी हुँदा कांग्रेसले ११ वटा वडा मात्रै जितेको छ ।

२०७४ मा नारदमुनी राना बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । यस पटक आरजु देउवा शत्तारुढ गठबन्धनका तर्फबाट निर्वाचन लड्ने छिन् । त्यसले आरजुलाई निर्वाचनमा केही सहज हुने देखिनछ ।

तर २०७४ मा असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा आरजुका लागि यस पटक पनि चुनौतीका रूपमा देखिन सक्ने छन् । पुष्कर नाथ ओझासँग कांग्रेसका जिल्लादेखि केन्द्रीय नेताले विभिन्न चरणमा छलफल गरे पनि उनले हालसम्म कैलाली-५ आरजुलाई छोड्ने संकेत देखाएका छैनन् ।

यदि पुष्करनाथ ओझा आरजुलाई सहयोग गर्न तयार भएनन् भने त्यसले आरजुलाई समस्यामा पार्ने निश्चित छ । कांग्रेसमा देखिएको गुटगत राजनीतिलाई समयमै व्यवस्थापन गर्न नसकेको खण्डमा पनि आरजुका लागि यस पटकको चुनाव त्यति सहज हुने देखिँदैन ।

यसका अलावा कैलालीमा बलियो बन्दै गएको नागरिक उन्मुक्ति पार्टी पनि आरजुका लागि चुनौतीको विषय बन्न सक्ने देखिएको छ । कैलाली-५ बाट नागरिक उन्मुक्तिका प्रभावशाली नेता लक्ष्मण थारुले चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

२०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मण थारुले ६ हजार ४६४ मत ल्याएर तेस्रो बढी भोट पाउने व्यक्ति बनेका थिए । यस पटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् । गाउँ टोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मण थारुले यस पटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ । जसकारण पनि आरजुलाई निर्वाचन जित्न सजिलो हुने छैन ।

नेकपा एमालेले कैलाली-५बाट कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो अझै लगाएको छैन । एमालेबाट नारदमुनि राना नै दोहोरिने चर्चा छ । यदि नारदमुनि राना पुनः प्रतिनिधि सभाको निर्वाचनमा दोहोरिएमा यस पटक कैलाली -५ मा कडा चुनावी प्रतिस्पर्धा हुने छ ।

स्थानीय तहको निर्वाचनमा प्रमुख दलले पाएको मत यस्तो छ

कैलाली-५ अन्तर्गत धनगढी उप महानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा स्तरमा पाएको मतका आधारमा कांग्रेस ठुलो पार्टी बनेको छ ।

नेपाली कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार ७ सय २२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरी २२ हजार ७ सय ७६ मत पाएको छ । त्यसैगरी नेकपा एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार ९ सय ९३ तथा कैलारीका दुई वडाबाट १ हजार ४ सय ८ मत गरी १७ हजार ४ सय १ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले धनगढीका १९ वडाबाट ८ हजार १ सय ७५ मत पाएको छ । सत्ता घटक नेकपा एकीकृत समाजवादीले वडा स्तरबाट २ हजार ९ मत पाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७