तेस्रो वरीयताका चिनियाँ नेता राष्ट्रिय जनकंग्रेस स्थायी कमिटी अध्यक्ष लु नेपाल आउँदै


१६ भाद्र २०७९, बिहीबार
Li Zhanshu

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी कमिटी अध्यक्ष लु चान्सु नेपाल भ्रमणमा आउने भएका छन् ।

उच्चस्तरीय कुटनीतिक स्रोतका अनुसार अध्यक्ष ली भदौ २७ गते काठमाडौँ आउने भएका हुन् । सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली नेपाल आउन लागेका हुन्।

राष्ट्रपति सी चिनफिङपछि अहिलेसम्म भएका भ्रमणहरूमध्ये लुको भ्रमण उच्चस्तरीय हुनेछ । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लि जिआनचाओकोपछि लु आउन लागेका हुन् । लु १७ मार्च २०१८ मा जनकंग्रेसको स्थायी कमिटी अध्यक्ष भएका हुन् ।

स्रोतका अनुसार भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नेछन्। ली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता हुनेछ। कूटनीतिक स्रोतका अनुसार जनकंग्रेसको स्थायी कमिटी अध्यक्ष लु पछि प्रधानमन्त्री ली खछ्याङ नेपाल आउनेछन् ।

एकपछि अर्को अमेरिकी उच्च अधिकारीहरु नेपालमा आउने क्रम बाक्लिएसँगै चिनियाँ उच्च अधिकारी पनि आउन थालेका छन् । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए. फ्लिन चार दिने नेपाल भ्रमण गरेर फर्किएको एक महिनापछि गत साउनमा संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७