असोज पहिलो साताबाट यातायातको टिकट बुकिङ


१८ भाद्र २०७९, शनिबार
bus park

काठमाडौं । दशैँमा हुने यातायात चापलाई दृष्टिगत गर्दै व्यवसायीले असोज पहिलो साताबाट टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् । दशैं मनाउन काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ ।

सोही समस्यालाई लक्षित गर्दै व्यवसायीले अग्रिम टिकट बुकिङको व्यवस्था गरेका हुन्छन् । जुन व्यवस्थालाई यसपालि पनि निरन्तरता दिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । यसका लागि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग छलफल भइरहेको उनको भनाइ छ ।

‘दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ गर्ने व्यवस्था गर्न छलफल गरिरहेका छौँ,’ उनले भने, ‘सम्भवतः असोजको पहिलो साताबाट नै टिकट बुकिङ खुला गर्छौँ । अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सक्ने बनाउँछौँ, यसलाई मुख्य प्राथमिकतामा राखेर काम गरेका छौँ ।’

यसअघि दशैँका वेलामा यातायात कम्पनीले आठ सयको हाराहारीमा नयाँ गाडी थप्दै आएका थिए । तर, यसपालि गाडी थप्ने योजनामा अधिकांश व्यवसायीहरू छैनन् । नगण्य व्यवसायीहरूले भित्रभित्रै नयाँ गाडी थप गर्ने योजनामा छन् ।

‘अहिले आर्थिक संकट पनि छ । तेलको भाउ महँगो छ । त्यो अवस्थामा दशैँका लागि भनेर किनेको गाडी वर्षभरि सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘त्यसअनुसार अहिले व्यापाक मात्रामा नयाँ गाडी थप हुँदैन । बढीमा दुई-तीन सय गाडी थप्न सकिन्छ ।’ दशैँमा नयाँ वर्षपार्कबाट मात्रै दैनिक एक हजार पाँच सय बस बाहिरिन्छन् । नागढुंगा नाकाबाट दैनिक तीन हजार पाँच सय सार्वजनिक गाडी बाहिरिन्छन् । त्यसबाहेक चोभार, साँगा नाकाबाट पनि धेरै गाडी बाहिरिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७