विद्यालय हिंडेका तीन बालक शुक्रबारदेखि बेपत्ता, अपहरणको आंशका


२६ भाद्र २०७९, आईतवार
balak

बुटवल । रुपन्देहीको बुटवलमा घरबाट विद्यालय जान हिंडेका तीन बालक शुक्रबारदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएका थिए ।

तर, विद्यालयमा हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् । नवीन औद्योगिक मावि कक्षा-९ मा पढ्ने दुई र नहरपुर मावि कक्षा-८ मा अध्ययनरत एक जना सँगै घरबाट निस्केको र सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सागरका मामा राजु पन्थीले झोला बोकेर विद्यालय गए पनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए ।

परिवारका अनुसार बेपत्तामध्ये समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको जानकारी गराएका छन् । उनले आफूहरूलाई अचेत बनाएर ल्याएको र २ बजे मात्र होस खुलेको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले परिवारको निवेदनानुसार सबैतिर खोजबिन गरिएको बताए । शनिबार भएकाले कलडिटेल र अरू प्रविधिबाट भने हेर्न नसकिएको उनले बताएका छन् । बालकहरु अपहरणमा परेको हुन सक्ने आशंका गर्दै प्रहरीले आज घटनाको विस्तृत अध्यनन् र अनुसन्धान गरिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७