सत्ता गठबन्धन, न्यायाधीश र वकिलहरुमाथि चोलेन्द्रले लगाए यी गम्भिर आरोप

‘न्यायपालिका ध्वंस गर्ने राजनीतिक योजनाले महाभियोग’


२६ भाद्र २०७९, आईतवार
cholendra shumsher jb rana

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानको क्रममा सत्ता गठबन्धन, न्यायधीस र वरिष्ठ वकिलहरुमाथि गम्भिर आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिँदै जबराले दलका नेता, वरिष्ठ वकिल लगायतको नामै किटेर टिप्पणी विभिन्न आरोप लगाए ।

जबरालाई प्रतिनिधि सभाको ९८ जना सांसद्ले गत फागुन १ मा महाअभियोग लगाएका थिए । गत साउन २२ मा मात्रै सभाले महाअभियोग छानबिन समितिमा यो प्रस्ताव पठाएको थियो । त्यसमाथि समितिले छलफल गरी भदौ ९ मा मात्रै जबराविरुद्धका प्रमाण माग गरेको थियो ।

भदौ १२ सम्म प्रमाण संकलन गरेको समितिले भदौ १५ देखि जबरासँग बयान लिइरहेको छ । भदौ १५, १६, १९ मा बयान लिएको समितिले चौंथो पटक आइतबार पनि बयान लिएको हो । निलम्बित जबराले महाभियोग सिफारिस समितिले ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् ।यस क्रममा उनले सत्ता गठबन्धन, न्यायाधीश र वकिलहरुमाथि गम्भिर लगाएका हुन् ।

‘न्यायाधीशको नियुक्तिमा बारका पदाधिकारी र नेताहरूले भाग माग्छन्’

cholendra shumsher jb rana


महाअभियोग सिफारिस समितिमा बयान दिँदै जबराले दलका नेता र नेपाल बार एसोसिएसनका पदाधिकारीले त्यसरी भाग माग्ने गरेको आरोप लगाए ।

न्यायाधीश नियुक्ति समयमा नगरेको, ढिलो नियुक्ति गर्दा पनि मापदण्ड उल्लंघन गर्ने गरेको भन्दै समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिँदै जवाराले भने, ‘मैले पटकपटक आफ्नो बयानमा भनिसकेको छु । अहिले पनि भन्छु । हरेक नियुक्तिमा भागबन्डा होस् भन्ने राजनीतिक चाहना हुन्छ । बारका पदाधिकारीको पनि चाहना हुन्छ । हरेक राजनीतिक पार्टीहरूले यो व्यक्तिलाई न्यायाधीशलाई नियुक्ति गर्नुपर्छ भनेर लेटरप्याडमै सिफारिस पठाएका हुन्छन् ।’

दलहरूको दबाबकै कारण नियुक्तिमा ढिलाई भएको उनको दाबी छ । ‘प्रजातान्त्रिक संविधान बनेपछिको पहिलो २०४७ सालको नियुक्तिमा पनि विवाद भयो । त्यसपछि २०४८ को नियुक्तिमा ठूलै विवाद भयो । त्यसपछि ४९, ५०, ५१ र ५२ सालमा भएका नियुक्ति पनि विवादित बनेका थिए,’ समितिमा जबराले भने, ‘२०६३ सालमा भएका नियुक्ति पनि विवादित भए । २०६५ का पनि विवादित भए । त्यसैबेला नियुक्त हुनुभएको सुशीला कार्कीजी पछि प्रधानन्यायाधीश नै हुनुभयो । कल्याण श्रेष्ठजीले रातारात परिषद्का दुई जना सदस्यबिना नै नियुक्त गर्नुभयो । त्यो पनि विवादित भयो । त्यसैले नियुक्तिमा प्रश्न उठेको मेरो कार्यकालमा मात्र होइन ।’

‘ओमप्रकाश अर्यालले श्रीमतीलाई न्यायाधीश बनाउन खोज्नुभयो’


जबराले अधिवक्ता ओमप्रकाश अर्यालको चरित्रमाथि नै प्रश्न उठाए । अर्यालको क्यारेक्टर एकदमै गम्भीर भएको भन्दै नोट गर्न आग्रह समेत गरे । भने, ‘सम्पत्ति शुदीद्धकरणको (रिट) दिन सुरेन्द्र केसीजी जानुभएको थियो क्यारे । त्यसमा जानुहुने अधिवक्ता ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओम प्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् । उहाँलाई अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको छ , पत्रिकामा मैले पढेको थिएँ ।’

यसैगरी अभिवक्ता अर्यालले श्रीमतीलाई न्यायाधीश बनाउन खोजेको दाबी गरे । उनले भने, ‘मैले अस्ति पनि भनेँ नि बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशले दुई चोटी सिफारिस गर्नुभएको दुबै चोटी मैले इन्कार गरेको हो भनेर । पुनदेवी महर्जन जी हुनुहुन्थ्यो मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जन जी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यति भन्दा खेरी नै पुगिहाल्छ । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निर्थक हो भनेर निर्णय नै गरिसकेको छ ।’

‘वरिष्ठहरूले क्यान्टिनमा बसेर दिनभरि मलाई गाली गर्थे’


जबराले आफूले वरिष्ठ वकिलको गिरोह नष्ट गरेपछि सर्वोच्च अदालतको क्यान्टिनमा बसेर गाली गर्ने गरेको दाबी गरे । ‘हामी कहाँ ठालु वरिष्ठ छन् । उनीहरू कस्ता छन् । मैले भन्नैपर्छ। ७१ जेठबाट सर्वोच्च अदालतमा नियुक्त भएको हुँ। त्यसयता त्यहाँ के हुन्छ मैले देखेको वास्तविकता भन्छु,’ उनले भने, ‘सर्वोच्च अदालतमा बहस गर्ने सात आठ जना वरिष्ठ अधिवक्ता हुनुन्थ्यो। न्यायाधीशहरू दिनभरी कुरेर बस्नुपथ्र्यो ।’

आफू आएपछि वरिष्ठहरूको गिरोह तोडिदिएको उनले दाबी गरे। ‘म आएपछि मैले प्रतिबद्धता गरेको यही हो, त्यसपछाडि यही किसिमबाट सिर्जना भएको छ विचौलियादेखि भ्रष्टाचारसम्मका कुरा आएका छन् । यसलाई म नष्ट गर्छु भनें,’ उनले भने, ‘त्यसपछि हाम्रा केही वरिष्ठ सर्वोच्चमा एउटा गोपालको क्यान्टिन छ त्यहाँ चिया खाएर दिनभरि मलाई गाली गरेर बस्ने अवस्था सिर्जना भयो ।’

cholendra shumsher jb rana 2

‘न्यायपालिका ध्वंस गर्ने राजनीतिक योजनाले महाभियोग’

जबराले न्यायपालिकालाई ध्वंस गर्ने राजनीतिक योजना अन्तर्गत आफूविरुद्ध महाअभियोग प्रस्ताव आएका जिकिर गरे । उनले भने, ‘न्यायपालिकालाई ध्वंस र भंग गर्ने हिसाबले यो आरोप आएका छ । राजनीतिक पार्टीहरूको यो ध्येय देखिन्छ । म को पार्टी हो त्यो भन्दिनँ तर, न्यायपालिकालाई भंग गर्न सकियो भने आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने ठानेर यस्तो आरोप लगाइएको हो ।’

न्यायपालिकाको संरक्षण बेगर देश प्रजातान्त्रिक मूल्य र मान्यतामा एक इन्च पनि हिँड्न नसक्ने उनले बताए । कानुनको शासन कायम गर्ने र नागरिकको हक संरक्षण गर्ने गरी संविधानले अदालतलाई सुम्पेको दायित्वमा घात र्पुयाउने गरी आफूलाई आरोप लगाइएको जबराले बताए । ‘यसबाट हामीले न्यायपालिकालाई सुदृढ गर्न गइरहेका छैनौं । न्यायपालिकाको गरिमामा आच आउने राजनीतिक दलहरूको योजनालाई यो समितिले निरर्थक पार्नुपर्छ,’ उनले भने, ‘न्यायपालिकालाई ध्वंस गर्ने प्रकृतिका यस्ता प्रश्न भेग र भ्रामक छन् ।’

‘यो पूर्वन्यायाधीश समाज र न्यायाधीश समाज हिजोको नेविसंघ र मण्डलेजस्तै हो’

उनले पूर्वन्यायाधीश समाज र न्यायाधीश समाज भनेको चाहिँ हिजोको नेविसंघ र मण्डलेजस्तै भएको बताए । उनले भने, ‘यो पूर्वन्यायाधीश समाज र न्यायाधीश समाज भनेको चाहिँ हिजोको नेविसंघ र मण्डलेजस्तै हो । पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज हो । मण्डले समाज भनेको मण्डलेले नै नेतृत्व गरेको छ । हिजोका मण्डलका जति पनि न्यायाधीशहरु पछि न्यायाधीश भएका थिए, उनले नेतृत्व गरेको छ । जस्तो टोपबहादुर सिंह, हिजोको मण्डले हो । उसले नेतृत्व गरेको छ । त्यसपछि ओझाजी, अहिले उपाध्यक्षले लेखु भएको छ ,। अस्ति पनि विज्ञप्ति उजुरी हाल्नुभयो । त्यसपछाडि सबै गर्ने चाहिँ घनघोर मण्डले भनेको शम्भु खड्का हो । हामी न्यायाधीशहरु बस्दा पनि यो चाहिँ ९हास्दै० मण्डले न्यायाधीश समाज हो भन्थ्यौं । त्यसैले उसले विरोध गर्नु स्वभाविक हो । त्यसमा मेरो केही छैन ।’

न्यायाधीशमाथि आरोपै-अरोप

यसअघि उनले न्यायाधीशहरुमाथि पनि विभिन्न आरोप लगाएका थिए । चार पूर्वप्रधानन्यायाधीशहरुको बक्तव्य आएपछि न्यायाधीशहरु विभाजित भएको, सुशीला कार्कीको कार्यकाल पछाडि ११ न्यायाधीशको नियुक्ती बदर गर्न व्यापक पहल भएको बताएका थिए । केही न्यायाधीशले दोहोरो भूमिका खेलेको बताएका थिए ।

आइतबारसम्म ३५ वटा प्रश्न सोधिएको समिति सदस्य कृष्णभक्त पोखरेलले बताए । उनका अनुसार समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको छ । बाँकी प्रश्नका लागि मंगलबार दिउँसो १ बजे समितिले जबरालाई बोलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७