हराएकी बालिका सकुशल भेटियो


१ आश्विन २०७९, शनिबार
KM KHOTANG

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएकोमा केही समयपछि झाडीभित्र सकुशल भेटिएकी छन् ।

घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो २ः३० बजे हराएकी स्नेहा आज बिहान घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै भेटिएकी हुन् । राम्रो बोल्न र हिँड्न समेत नसक्ने स्नेहा घाँस काट्न गएकी स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेका अवस्था सकुशल फेला पारेको निवर्तमान वडाध्यक्ष भीम राईले बताए । ‘बालिकाको अवस्था हेर्दा सकुशल रहेको देखिन्छ’, उनले भने, ‘रातभर पानी परेको र लामो समयसम्म एक्लै रहेकाले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था पठाउने तयारी भइरहेको छ ।’

घाँस काट्न जानेक्रममा वनमारा, विभिन्न प्रजातिका बोटबिरुवा र खर (घरको छाना छाउन प्रयोग गरिने घाँस) रहेको झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा स्नेहालाई भेटेको मिनकलाले जानकारी दिइन् । ‘गाउँमा बच्चा हराएको हिजोदेखि नै हल्ला चलेको थियो’, उनले भनिन्, ‘बिहान डोको लिएर घाँस काट्न जाँदा झाडीभित्र सानो नानी रोएको आवाज सुनेँ १ हेर्न जाँदा एक्लै बसिरहेकी देखेँ १ बोलाउँदा आउन नसकेपछि आफैँ झाडीभित्र गएर बोकेर बाहिर ल्याएँ १ अनि बच्चीको परिवारलाई बोलाएर आएपछि उनीहरुलाई बुझाएकी छु ।’

राम्रो बोल्न र हिँड्न समेत नसक्ने बालिका हराएको जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी रभर खोजी कार्यमा लागेका थिए । बुबा उमेश छिमेकीकामा पितृकार्य तथा आमा प्रिती राई ठूली छोरीलाई विद्यालय लगेर गएको समयमा स्नेहा हराएको पारिवारिक स्रोतले जनाएको छ ।

नुनथलाको घटनाका बारेमा यथार्थ बुझ्न प्रहरीलाई निर्देशन दिइएको जिल्ला सुरक्षा समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । प्रजिअ सेढाईंले सामाजिक सञ्जालमा आएको हल्लाको पछाडि नलाग्न र आफ्ना बालबालिको हेरचाहमा ध्यान दिन जिल्लावासीलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७