बुवाको उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँदै १५ वर्षका राजीव


४ आश्विन २०७९, मंगलवार
safari

मोरङ । राजीव साह भर्खर १५ वर्षमा लाग्दैछन् । तर उनको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ ।

घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्ययनरत साहको दैनिकी बिहानदेखि साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ ।

मोरङको बेलबारी-९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउँथे । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनु परेको छ ।

बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउँछन् । ‘डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा अन्य औषधिमा कम्तिमा तीनदेखि चार हजारसम्म खर्च हुन्छ’, उनी बताउँछन् । सफारी कुदाएर दैनिक चार/पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनले गुनासो गरे ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी हो । यो दैनिकी बिहान-बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो ।
दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउँछन् । ‘कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ’, उनी भन्छन् ।

स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग उनले आग्रह गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७