डा. केसी काठमाडौं आइपुगे, त्रिवि शिक्षण अस्पतालबाटै अनसनलाई निरन्तरता दिने


५ आश्विन २०७९, बुधबार
Govinda kc 1

काठमाडौँ । डा. गोविन्द केसी काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी अनसनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

विभिन्न सात बुँदे माग राखी धनगढीमा अनसन शुरु गरेको १० औँ दिनमा उनी आज बुधवार आफ्नै खर्चमा काठमाडौँ आएका हुन् । अस्पताल भर्ना भए पनि अनसन जारी रहने उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिएका छन् ।

सरकारले हिजो मङ्गलवार नै नेपाली सेनाको जहाजमार्फत काठमाडौं ल्याउन खोज्दा केसीले अस्वीकार गरेका थिए । अनसनका क्रममा केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले समेत पहल गरेको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो ।

अस्पतालले डा. केसीको शरीरमा पोषण तत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । त्यस्तै त्यहाँका चिकित्सकले पेटमा कडा खालको अल्सर भएको आशंका समेत गरेका छन् । केसीको यो २० औं अनसन हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७