ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना


९ आश्विन २०७९, आईतवार
Bijuli laghu khotang scaled

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले रु १४ लाखभन्दा बढी ऋण रहेको उपभोक्ता समितिले जनाएको छ ।

करिब रु दुई करोड लागतमा सञ्चालन गरिएको लघु जलविद्युत् आयोजनाका लागि ऋण लिइएको रु नौँ लाख रकम अझै फिर्ता गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष अग्नीप्रसाद राईले बताए । ‘एक घर उपभोक्ताबाट प्रति महिना रु १०० का दरले सेवा शुल्क लिने निणर्य गरेका थियौं’, उनले भने, ‘समितिले तोकेको सेवा शुल्क उपभोक्ताले नबुझाउदा अहिले आर्थिक सङ्कट भएको छ । उपभोक्ताबाट सेवा शुल्क नउठेपछि आयोजना नै सङ्कटमा परेको छ ।’

नाखामखोला लघु जलविद्युत् आयोजनामा अहिले तीनजना प्राविधिक कर्मचारी कार्यरत रहेका र उनीहरुलाई मासिक तलब दिन समेत समस्या भएको उपभोक्ता समितिले जनाएको छ । प्राविधिक कर्मचारीका लागि मासिक तलबबापत रु छ लाख रकम भुक्तानी दिन बाँकी रहेको अध्यक्ष राईले जानकारी दिए ।

सुरुमा सबै उपभोक्ताको उल्लाशमय सहभागितामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइए पनि पछिल्लो समय हेल्चेक्र्याइँले समस्या भएको देखिएको वडाध्यक्ष मुगाधन राईले बताए । ‘अहिलेको अवस्था हेर्दा लामो समय सञ्चालन गर्न सकिने अवस्था छैन’, उनले भने, ‘सामूहिकरुपमा सञ्चालन गरिएको आयोजना भएकाले एकजना व्यक्तिको निणर्यले चलाउने कुरा भएन । आर्थिक सङ्कट दिनानु दिन बढ्दै गएपछि उपभोक्ता समितिको बैठक बसेर केन्द्रीय प्रशारणलाइनमा जोड्न निणर्य गरिएको छ ।’

पटक-पटक बिग्रँदै आएको उक्त नाखामखोला लघु जलविद्युत् आयोजना मर्मत गर्ने क्रममा यही भदौ १९ गते स्थानीय ३६ वर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको थिायो । श्रीमतीसहित चार सन्तानका बुबा प्रकाशको करेन्ट लागेर मृत्यु भएपछि क्षतिपूर्ति समेत दिन नसकिएको उपभोक्ता समितिले जनाएको छ ।

विद्युत् गृह नजिक घर भएका राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गरेर सहयोग गर्दै आएकामा करेन्ट लागेर ज्यानै गुमाएको स्थानीयलाई बताएका छन् । सुरक्षाका उपाय नअपनाई अवरुद्ध विद्युत मर्मतको काम गर्दा यसअघि पनि विभिन्न समयमा प्राविधिक कर्मचारी र स्थानीय बासिन्दालाई पटक-पटक करेन्ट लाग्दै आएको छ ।

उता ऐसेलुखर्क गाउँपालिकामा तीनवटा लघु जलविद्युत् सञ्चालनमा छन् । वडा नं २ बाकाचोलमा सञ्चालित लिदिङखोला-२ लघु जलविद्युत् आयोजना ७० किलोवाट क्षमताको छ । दश वर्षअघि सञ्चालनमा ल्याइएको उक्त लघु जलविद्युत् आयोजनाको ऋण अहिले रु २७ लाख पुगेको उपभोक्ता समितिले जनाएको छ ।

वडा नं १ राखाबाङ्देलमा २०६९ भदौबाट सञ्चालित ७० किलोवाट क्षमताको लिदिङखोला-१ लघु जलविद्युत् आयोजनामा रु २५ लाख ऋण रहेको वडाध्यक्ष समेत रहेका उपभोक्ता समितिका अध्यक्ष पुरुषोतम राजभण्डारीले बताए । ‘सेवाग्राहीले महसुल बुझाउने हो भने लघु जलविद्युत् आयोजना यतिबेला फाइदामा जान्थ्यो’, उनले भने, ‘सबैको अपनत्व हुनेगरी उपभोक्ता समितिमार्फत सञ्चालन गरियो । अहिले उपभोक्ता समितिलाई कसैले टेर्दैनन् । उपभोक्ता समितिले धान्न नसकेपछि वडालाई यसको व्यवस्थापन हेर्ने जिम्मेवारी आएको छ ।’

गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं. ३ ऐसेलुखर्कका स्थानीय बासिन्दाले सञ्चालनमा ल्याएको ९० किलोवाट क्षमताको लिदिङखोला ३ लघु जलविद्युत् आयोजनाको ऋण रु ७० लाख रहेको जनाइएको छ । केन्द्रीय प्रशारण लाइनको विद्युतसमेत सञ्चालनमा रहेको उक्त ठाउँमा सञ्चालित लघु जलविद्युत् आयोजनाको उपभोक्ता समितिले ऋण तिर्न नसकेपछि आयोजना नै बन्द गर्ने अवस्था आएको बुझिएको छ ।

आर्थिक सङ्कट झेल्दै आएका गाउँपालिकाभित्र सञ्चालित लघु जलविद्युत्लाई एकीकृत गर्दै केन्द्रीय प्रशारण लाइनको विद्युतमा जोड्नेगरी पहल थालिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए । ‘हरेक वर्ष प्राकृतिक प्रकोपले क्षति गरेपछि उपभोक्ता समितिले क्षतिपूर्तिका लागि गाउँपालिकामा निवेदन ल्याउँछ’, उनले भने, ‘गाउँपालिकाले सहयोग गर्ने स्थिति छैन । केन्द्रीय प्रशारणलाइनमा जोडियो भने उसैले हेर्ने भएकाले प्रक्रियाको बारेमा परामर्श भइरहेको छ ।’

केपिलासगढी गाउँपालिका-१ फेदीमा मात्रै चारवटा लघु जलविद्युत् आयोजना उत्पादन गरिएको थियो । अहिले तीन वटा सञ्चालनमा रहेका छन् भने, एउटा उत्पादन गरेर सञ्चालनमा ल्याएको केही महिनापछि नै पहिरोले बगाएर अलपत्र छ । ब्रिटिस गोर्खा वेलफेयर खोटाङको रु एक करोड २५ लाख लगानी तथा उपभोक्ताको श्रमदानमा उत्पादन गरिएको ३६ किलोवाट क्षमताको पञ्चमी-छमुवाखोला लघु जलविद्युत् आयोजना पहिरोले बगाउँदा एक जना प्राविधिक कर्मचारीको ज्यान समेत गएको थियो ।

फेदीमा स्थानीय बासिन्दाको चन्दा सङ्कलन तथा दातृ निकायको सहयोगमा ४० किलोवाटको नोक्ती-तापखोला जलविद्युत् आयोजना, ३९ किलोवाटको स्वाँरा-तापखोला जलविद्युत् आयोजना र २४ किलोवाटको छमुवाखोला जलविद्युत् आयोजना हाल सञ्चालनमा छन् । करिब ६२५ घरधुरीले उपभोग गर्दै आएका यी तीनवटै लघु जलविद्युत् आयोजनामा आर्थिक सङ्कट रहेको वडाध्यक्ष नीरकुमार राईले बताए ।

सस्तो, भरपर्दो र स्थानीयवासीलाई रोजगारीको बन्दोबस्त समेत हुने अपेक्षासहित जिल्लामा करिब तीन दर्जन लघु जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित लघु जलविद्युत् आयोजनामा अहिले आर्थिक सङ्कट देखिएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

विसं २०५७ मा दिक्तेल बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको लामो समयसम्म जिल्लाका अधिकांश ठाउँमा विस्तार नभएपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्त लघु जलविद्युत् आयोजना सञ्चालन गरेका थिए । शुरुमा लघु जलविद्युत् उत्पादनमा हौसिएका स्थानीय बासिन्दा अहिले आर्थिक सङ्कट पर्दै गएपछि निराश बनेका छन् ।

लघु जलविद्युत्मा आर्थिक सङ्कट पर्न थालेसँगै जिल्लामा सञ्चालित सबै लघु जलविद्युत् आयोजनाहरुलाई एकीकृत गर्दै केन्द्रीय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ २०७० सालमा केपिलासगढी गाउँपालिका-१ फेदीका तत्कालीन वडाध्यक्षसमेत रहनुभएका वीरबहादुर तामाङको अध्यक्षतामा ‘लघु जलविद्युत् उपभोक्ता जिल्ला महासङ्घ खोटाङ’ गठन गरिएको थियो । उक्त महासङ्घ अहिले निष्क्रिय छ ।

कानूनी झन्जटका कारण जिल्लामा सञ्चालित लघु जलविद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने काम गर्न नसकिएको अध्यक्ष तामाङले बताएका छन् । ‘अहिले जिल्लामा मात्र नभई देशभर सञ्चालित लघु जलविद्युत् आयोजनाहरु आर्थिक सङ्कटमा छन्’, उनले भने, ‘आर्थिक सङ्कटकै कारण अधिकांश लघु जलविद्युत्हरु बन्द हुने अवस्थामा छन् । यसप्रति सम्बन्धित निकायले चासो दिन जरुरी छ ।’

जिल्लामा उत्पादित १०० किलोवाट क्षमतासम्मको साना जलविद्युत् आयोजनाहरु केन्द्रीय प्रशारण लाइनमा जोड्न जिल्लामै सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन सकिने नेपाल विद्युत प्राधिकरण, दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख विजयराज रेग्मीले बताए । ‘केन्द्रीय प्रशारण लाइनमा जोड्न लाग्ने आर्थिक तथा प्राविधिक खर्च र उपकरण सम्बन्धित जलविद्युत् उपभोक्ता समितिले ब्यहोर्नुपर्छ’, उनले भने, ‘१०० किलोवाटभन्दा माथिका जलविद्युत् जोड्ने हो भने प्राधिकरणमै गएर सम्झौता गनुपर्छ ।’

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अहिले २२ हजार २८२ घर केन्द्रीय प्रशारणल ाइनको विद्युत उपभोक्ता रहेका छन् । शुरुमा (२०५७ सालमा) ११ केभी क्षमताको विद्युत सञ्चालन गरिएको जिल्लामा छ वर्षअघि (२०७३ सालमा) ३३ केभी क्षमतामा स्तरोन्नति गरिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा सब-स्टेशन रहेको केन्द्रीय प्रशारण लाइनको विद्युतमा अहिले जिल्लाका तीन वटा जलविद्युत् आयोजना जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाइड्रोपावर गरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।

जिल्लामा उत्पादन गरेर केन्द्रीय प्रशारण लाइनमा जोडिएका विद्युतमध्ये तीन भागमा एक भाग पनि जिल्लामा खपत नभएको विद्युत प्राधिकरण खोटाङले जनाएको छ । जिल्लाका लागि आवश्यक पर्नेभन्दा तीन गुण बढी विद्युत् जिल्लामै उत्पादन भएपनि केन्द्रीय प्रशारण लाइनमा जोडिएकाले केन्द्रीय प्रशारण लाइनको विद्युत पटक-पटक अवरुद्ध हुँदा उपभोक्ता हैरानीमा परेका छन् ।

विसं २०७८ को जनगणनाअनुसार ४० हजार ३९२ घर स्थानीय बासिन्दाको बसोबास रहेको जिल्लामा अधिकांशले लघु जलविद्युत् प्रयोग गर्दै आएका छन् । जिल्लाका आधाजति स्थानीय वासिन्दाले उपभोग गर्ने लघु जलविद्युत् आर्थिक सङ्कटमा फस्दै गएकाले त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७