राप्रपा प्रवेश गर्दै रविन्द्र मिश्रले भने, ‘हलो बोक्न मलाई कुनै लाज छैन’


१२ आश्विन २०७९, बुधबार
Rabindra Mishra 1
फाइल फोटो

काठमाडौं । विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंसा गर्दै अब सोही एजेण्डामा अझ मजबुत शैलीमा अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा उनले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरवार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैली गलत भएको बताए । उनले भने, ‘हामी आफू-आफू झगडा गरौं, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नु भएन ।’

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बुझेको पनि बताए । उनले भने, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधै उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्व शक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भष्ट्र सरकार लिएर बसिरहेका छौं । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’ त्यही कारण नेपालमा भूराजनीतिक जटिलताहरु आइरहेको उनले बताए । यदि यहाँ द्वन्द्व चर्कियो भने कहिल्यै समाधान नहुने उनको भनाइ छ ।

उनले राजनीति सिंगो देशलाई गाइड गर्ने नीति भएको बताए । तर, यहाँ देशको राजनीति गर्ने कोही भएनन् । पेशा व्यवसाय त सबैले गरेकै होलान् तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको उनको भनाइ छ । उनले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउन गरेको पनि बताए । उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उनले धर्मनिरपेक्षताले नेपाली समाज विकृत बनेको पनि बताए । यसमा वामवादले थप क्षति पुराएको बताए । उनले भने, ‘चामलको बोरामा राखेर बाइबल किन बाँढ्ने ? पशुपति मन्दिरमै गएर बाइबल बाचन गर्नुपर्छ र ? तीन-चार कक्षामा पढ्ने बालबालिकालाई किन बाइबल पढाउने ?’ उनले आफू पनि क्रिश्चियन देशमा धेरै वर्ष बसेको तर यहाँ जस्तो विचलन नपाएको बताए । उनले आफू राप्रपामा पसेर हलो बोक्न कुनै लाज नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७