नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्यो, ५० बढी घर डुबानमा


२१ आश्विन २०७९, शुक्रबार
badhi

नवलपरासी । नारायणी नदीमा आएको बाढी पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ बाढी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् ।

नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेको स्थानीय मुन्सी गुप्ताले जानकारी दिएका छन् । नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन् ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको बताए । तीनतिर नारायणी नदी र एकतर्फबाट भारतीय सीमाना रहेको सुस्ता बस्तीमा उद्धारका लागि पनि भारतीय भूमि हुँदै जानुपर्ने हुन्छ । वर्षौंदेखि नारायणी नदीमा पुल निर्माण नहुँदा डुंगामा आवतजावत गनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७