एमाले र जसपाबीच २२ सिटमा चुनावी तालमेलको तयारी

२५ सिट पाए गठबन्धनमै रहने उपेन्द्र यादवको रणनीति


२१ आश्विन २०७९, शुक्रबार
kp oli upendra meeting
फाइल् फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनको पछिल्ला बैठकमा अनुपस्थित हुन थालेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिंदै गएका छन् ।

बिहीबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा चलिरहँदा अनुपस्थित जसपा अध्यक्ष यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा थिए । जसपा नेता राजकिशोर यादवका अनुसार बिहीबार बेलुका दुई अध्यक्षबीच वार्ता भएको हो । उनले वार्तामा भएको प्रगतिबारेमा भने केही जानकारी नभएको बताएका छन् ।

यादवले सत्ता गठबन्धनले निकै कम सिट दिएर धोका दिन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । यसअघिको बैठकमा पनि यादवले यस्तो गुनासो गर्ने गरेको एक नेताले जानकारी दिए । जसपाले यसअघि बसेको पार्टीको बैठकबाट पनि एक्लै निर्वाचनमा होमिन सक्ने निर्णय गरेको थियो ।

तर एमालेका दोस्रो तहका नेताहरु सक्रिय भएपछि दुई पार्टीबीच वार्ताको तयारी भएको थियो । लगातारको अनौपचारिक छलफलमा एमालेले जसपालाई २५ सिट दिन तयार रहेको संकेत दिएपछि यादव पनि लचिलो भएका छन् । तर, एमाले भने २२ सिटमा जसपालाई मनाउने रणनीतिमा छ । यादव निकट स्रोतका सत्ता गठबन्धनले २५ सिट दिए एमालेसँग भन्दा अझै पनि सत्ता गठबन्धनसँगै अघि बढ्न तयारीमा पार्टी छ ।

उनका अनुसार मुख्य विवाद काठमाडौं ७ बाट शुरु भएको थियो । काठमाडौं ७ मा गठबन्धनले बाबुराम भट्टराईकी छोरी मानुषी यमीलाई उम्मेदवार बनाउनु पर्ने अडान राखेको थियो यादवले राजेन्द्र श्रेष्ठलाई । यादवले यसअघि मन्त्री परिवर्तन गर्दा पनि श्रेष्ठलाई भने कायमै राखेका थिए । यादवले श्रेष्ठ नै काठमाडौं ७ मा उम्मेदवार बन्नुपर्ने अडान राखेका थिए ।

त्यहींबाट विवाद शुरु भएको स्रोतको दाबी छ । एमालेसँगको छलफलपछि आज पनि दुई पार्टीका शीर्ष नेताको छलफल हुने यादव निकट एक नेताले जानकारी दिएका छन् । उनका अनुसार हस्ताक्षरकै तहमा छलफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७