चर्को शुल्क बढाउने बृहस्पति स्कुलविरुद्ध अभिभावक आन्दोलनमा


२६ चैत्र २०७४, सोमबार
brihaspati

काठमाडौं, २६ चैत । बाल संगठनको जग्गा लिजमा लिएर संचालन गरेको बृहस्पति विद्या सदनले यो शैक्षिक सत्रदेखि अत्यधिक रुपमा शुल्क बृद्धि गरेपछि अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।

brihaspati
बृहस्पति विद्यासदन नक्सालमा अभिभावकहरु शुल्कबृद्धिको विरोध गर्दै ।

शुक्रबार र आइतबार पनि अभिभावकहरुले मनपरी शुल्क बृद्धि गरेकोमा विरोध प्रदर्शन गरेका छन् । बाल संगठनको नाममा रहेको नक्सालको २८ रोपनी जग्गा लिजमा लिएर विद्यालय संचालन गरेको बृहस्पतिले यो बर्ष ३५ प्रतिशत शुल्क बृद्धि गरेको छ । बृहस्पति विद्यासदन पुरुषोत्तमराज जोशी र मुरारिनिधि तिवारीले बिशाल गु्रपलाई बिक्री गरेपछि विद्यार्थीको शुल्क एकैपटक ३५ प्रतिशतले बृद्धि गरेको छ । यस्तो मनपरी शुल्कबृद्धि बिरुद्ध अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् ।

bi 2
अभिभावकहरु शुल्कबृद्धिको विरोध गर्दै ।

बिशाल ग्रुपले स्कुल हेर्नेगरी भारतीय नागरिक सिद्धार्थ केडिया र अभिनव सिंहानियालाई पठाएको छ । नक्सालमा रहेको बृहस्पति विद्यासदन खरिद गरिसकेपछि बिशाल गु्रपले विद्यार्थीको शुल्क ह्वात्तै बढाएको छ । शिक्षा ऐन र नियमावली विपरीत शुल्क बढाएपछि अभिभावकहरुले धमाधम आफ्ना बालबच्चाहरु निकालेर अन्यत्रै भर्ना गर्न थालेका छन् । अभिभावकहरुले ३५ प्रतिशत शुल्क बढाएर एक विद्यार्थी बराबर करिब १५ हजार मासिक शुल्क तिर्नुपर्ने भएको छ । त्यो शुल्क पनि २ महिनाको एकैपटक बुझाउनुपर्ने अनिवार्य ब्यवस्था गरिएको छ ।

विद्यार्थीको पोशाक पनि सिद्धार्थ केडियाले भारतमै तयार गरी ल्याउने हो भन्दै प्रतिविद्यार्थी ७ हजारका दरले रकम तोकेका छन् । स्कुलले १ छाक खानाबापत मासिक ७ हजार रुपैयाँ असुली गर्दैआएको छ । जबकि उक्त खानाको लागत जम्मा एक विद्यार्थी बराबर ३० रुपैयाँमात्र पर्दछ । १३ सय विद्यार्थी रहेको उक्त स्कुलले सफ्टवेयर पनि दिल्लीबाटै चल्नेगरी राखेको छ । स्कुल परिसरमा कर्मचारीलाई सिद्धार्थ केडिया र अभिनव सिंहानियाले हिन्दीमा गालीगलौज गर्न थालेपछि कर्मचारीहरु पनि छाड्न थालेका छन् ।

शिक्षाक्षेत्रमा ब्रम्हलुट मच्चाउँदा पनि सरकार मौन छ । बोर्डिङले जति महंगो लिए पनि सरकारले केही कारबाही गर्नसक्दैन भन्ने सन्देश प्रवाहित भएको छ । जसका कारण बृहस्पति स्कुलहरु लगामविहीन भएका छन् । विद्यार्थी संगठनका नेताहरु बोर्डिङ स्कुलले मनपरी शुल्क बढाउँदा पनि चुपचाप छन् । स्कुलका संचालकहरुले शिक्षा मन्त्रालय, अभिभावक संघ, विद्यार्थी संगठन सबैलाई पैसा दिएर प्रभावहीन बनाइसकेका छन् ।

अभिभावकहरु सामान्य बोर्डिङ स्कुलमा छोराछोरी भर्ना गर्दा ५० हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । काठमाडौंमा मजदुरी गर्ने र निम्न आय भएकाहरुले बोर्डिङमा छोराछोरी पढाउन सम्भव छैन । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको पहुँच हुने अपेक्षा गरिएको छ । तर त्यस विपरीत यो बर्षदेखि झन् बोर्डिङ स्कुलहरुले शुल्क चर्को रुपमा बृद्धि गरेका छन् । बोर्डिङले जति लुट्दा पनि नियमनकारी निकाय पक्षघात लागेका जस्तै भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७