भीम रावलले एमाले नछाड्ने, पार्टीमै रहेर संघर्ष गर्ने

‘एमालेका सबै उम्मेद्वारका लागि मत माग्न सक्दिनँ’


२७ आश्विन २०७९, बिहीबार
Bhim Rawal

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी नछाड्ने स्पष्ट पारेका छन् । अछाम क्षेत्र नम्बर १ बाट सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै पार्टीमै बसेर संघर्ष गर्ने जानकारी दिए । अध्यक्ष ओलीमाथि निकै आक्रोशित बन्दै दर्जनौं आरोप लगाएका उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताए ।

तर नेता भीम रावलले एमालेका सबै उम्मेदवारलाई जिताउनका लागि आग्रह गर्न नसक्ने बताए । विगतमा एमाले कार्यकर्ताको रगत बगाउने, एमालेविरुद्ध लाग्नेलाई सूर्य चुनाव चिह्न दिएको भन्दै रावलले सबै उम्मेदवारलाई जिताउन भन्न नसकिने बताएका हुन् ।

उनले निर्वाचनमा टिकट वितरणको विषयमा चर्को आलोचना गरेका छन् । एमालेका सबै उम्मेदवारलाई भोट माग्नु भएन नि ? भन्ने प्रश्नको जवाफमा रावलले भने, ‘होलिवाइनलाई पनि उम्मेदवार बनाएको देख्छु, संविधान दिवसलाई कालो दिवस मनाउने पनि देख्छु, जसको विरुद्धमा एमालेका कार्यकर्ताहरूले रगत बगाउनु प¥यो तिनलाई पनि एमालेले उम्मेदवार बनाएको देख्छु । अनि कसरी एमालेका सबै उम्मेदवारलाई जिताउन भन्छु ?’

पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिबद्ध उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । ’देशभक्त, मार्क्सवादप्रति प्रतिबद्ध, एमालेमा रगत, पसिना बगाएका, गलत कुराको विरुद्ध लड्ने, विधि–पद्धति मान्ने ती उम्मेदवाहरूलाई जिताउन भन्छु,’ उनले भने ।

टिकट वितरणका क्रममा ‘कथित अनुशासन र पार्टी विभाजनका कुरा कोट्याएर पार्टीमा लामो समयसम्म रगतपसिना बगाएका पार्टीका प्रतिबद्ध व्यक्तिहरूलाई टिकटबाट वञ्चित गरिएको’ रावलले बताए । विगतमा एमालेको विरोधमा लागेका व्यक्तिहरूलाई उम्मेदवार बनाएकोप्रति उनले आक्रोश व्यक्त गरे । उनले सोधे, ‘दशकौं पार्टीमा योगदान गरेका, पार्टीका स्थायी कमिटी सदस्य र पार्टी नेताहरूलाई गलहत्याएर विरोधी सिद्धान्त, जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कुन सिद्धान्त हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७