टर्कीको कोइला खानीमा विष्फोट : २८ जनाको मृत्यु

काठमाडौं । टर्कीमा कोइला खानी विष्फोट हुँदा २८ जनाको मृत्यु भएको छ । खानीमा मिथेन विष्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको थियो । विष्फोटमा कैयौँ फसेको अनुमान गरिएको छ ।
शनिबार उद्धारकर्ताले उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जनभन्दा बढी कामदारलाई उद्धार गरेका छन् । अहिलेसम्म ५८ जनाको सकुशल उद्धार गरिएको छ । १५ जना कामदार अझै खानीभित्र फसिरहेको अनुमान गरिएको छ । आन्तरिकमन्त्री सुलेमान सोयलुले खानीमा फसेका कामदारको उद्धार कार्य जारी रहेको बताए ।
ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो । खानीमा फसेका कामदार ३०० र ३५० मिटर तल रहेको अनुमान गरिएको छ । स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्विटरमार्फत जानकारी दिएका छन् ।
केही कामदार विष्फोटपछि आफै बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको थियो । यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक क्षेत्रमा भएको विष्फोटमा करिब ११० जना कामदारको ज्यान गएको थियो ।