नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई


१ कार्तिक २०७९, मंगलवार
crick

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर ८७ रन बनायो । अठासी रनको विजय लक्ष्य बागमतीले १६ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । बागमतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन् । उनले २१ बलमा एक छक्का र छ चौका प्रहार गरिन् । यस्तै अस्मिता खरेलले २०, अनिशा मजाकोटीले अविजित १० तथा कञ्चन श्रेष्ठले १० रन बनाइन् । बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले दुई तथा सुस्मिता भुषालले एक विकेट लिइन् ।

यसअघि लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा सरस्वती जीएमले ३० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ बागमतीका लागि विपिशा शाहीले चार, खुसी डङ्गोलले तीन तथा सोनी पाख्रिनले दुई विकेट लिइन् । अहिले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच पोखरा रंगशालामा खेल हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७