भंगहा नगरपालिकामा लगाइएको कर्फ्यु हट्यो, अवस्था सामान्य


१२ कार्तिक २०७९, शनिबार
bhangaha1.jpg

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका–८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ । सो क्षेत्रको अवस्था सामान्य भएपछि गए राति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले विज्ञप्ति प्रकाशन गरि जनाएको छ ।

सो क्षेत्रको अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गए राति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अवस्था सामान्य भएपछि स्थानीयहरुले अहिले छठको तयारी गर्नमा व्यस्त रहेका छन् । गत बिहीबार हिन्दू र मुश्लिम समुदायका पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु लगाएको थियो ।
घटना छानबिन गर्न समिति गठन

सो घटनाको निष्पक्ष रुपमा छानविन गर्नका लागि गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । सो समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् ।

भंगहा– ८ को पररिया टोलमा दुई पक्षबीच भएको झडपमा परि १५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानमा उपचार भइरहेको छ ।

यस्तो थियो घटना
बिहीबार हिन्दु सम्राट् सेना नामक एक सङ्गठनले निकालेको र्‍यालीमा एक समूहले ढुंगा प्रहार गरेपछि तनावमय अवस्था भएको थियो । ततपश्चात दुवै समूहबीच भएको झडपको अवस्थालाई सामान्य गर्नका लागि प्रहरी परिचालन भएको थियो । सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अवस्था अझ तनावमय भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले घटनास्थल आसपासको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यु जारी गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७