भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर


२८ चैत्र २०७४, बुधबार
bisket

भक्तपुर, २८ चैत (रासस) । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर गःहिटी पुर्‍याएका छन् ।bisket

जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुर्‍याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिए ।

विगतका वर्षहरुमा भने रथ तान्ने जनशक्तिको अभाव भए सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पु¥याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुर्‍याएको उहाँको भनाइ छ ।

राति नै रथलाई गःहिटी पुर्‍याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा रथको गजुर भाँचिएको छ । तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पुर्‍याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो ।

रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। उनले भने, ‘रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।’

आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पुर्‍याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन : गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७