अाज यमपञ्चकको दोस्रो दिन, कुकुर पूजा गरेर मनाइँदै
काठमाडौं : यमपञ्चकको दोस्रो दिन घर घरमा इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर मनाइयो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कूल परम्पराअनुसार कसैले कुकुरलाई पूजा गरेर मीठो खान दिन्छन् भने कतिपयले मीठो खान दिने गर्छन् । शास्त्रीय रुपमा काग र कुकुरलाई मीठो खान दिने उल्लेख भए पनि पूजा गर्नुपर्ने कुरा नलेखिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने विश्वास समेत छ । वैवस्वत् मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।
नरक चतुर्दशी
आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।