परिपक्व भानुभक्त : आफ्नो क्षेत्रमा १५ अर्ब ७८ लाख बजेट भित्र्याए, कानुन निर्माणको अगुवाई गरे


२४ कार्तिक २०७९, बिहीबार
Bhanu Bhakta dhakal scaled

राजनीतिक दलहरुले भनिरहेका छन्, ‘अब आर्थिक क्रान्ति ।’ योसँगै एउटा प्रश्न छ, ‘कसको नेतृत्वमा ?’ आजसम्मको विश्वको अनुभवले भन्छ, ‘राजनीतिक क्रान्तिको नेतृत्व गर्ने शक्तिबाटै आर्थिक क्रान्ति ।’ यसको नजिकैको उदाहरण हो, चीन ।

४ मंसिर २०७९ मा आम निर्वाचन हुदै गर्दा राजनीतिक परिवर्तनको नेतृत्वमा महत्वपूर्ण भूमिका निभाएका नेताहरुलाई नयाँ अनुहारले चुनौती दिइरहेको छ । ती चुनौतीको सामना गरिरहेकामध्येका एक हुन्, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल ।

मोरङ क्षेत्र नं.३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका ढकालले फरक क्षेत्रबाट आएका उम्मेदवारको सामना गरिरहेका छन् । गठबन्धनका उम्मेदवार मेडिकल व्यवसायी सुनिल शर्माले उनलाई चुनौती दिइरहेका छन् । उसैगरी अभिनेत्री रेखा थापा पनि मैदानमा छिन् । राप्रपाबाट उम्मेदवार बनेकी थापाले पनि दुवै उम्मेवारलाई चुनौती बढाइरहेकी छिन् ।

कांग्रेसबाट दोस्रो पटक टिकट लिएर चुनाव लडिरहेका व्यवसायी शर्माले मतदातासँग ‘हाताहाती’ को नारा लगाइरहेका छन् । लामो राजनीतिक श्रृंखला पार गरेर आएका ढकाललाई उनै शर्माको ‘हाताहाती’ चुनौती भएको छ । ढकाल भनिरहेका छन्, ‘अब समृद्धिको युगमा प्रवेश गरेका छौं । मोरङको रणनीतिक र श्रृंखलाबद्ध विकासको मार्गचित्र हामीसँग मात्रै छ ।’

Bhanu bhakta dhakal 1


कानुन निर्माणको नेतृत्वसँगै विकास पनि

ढकाल २०७४ को निर्वाचनमा यही क्षेत्र नं.३ बाट विजयी भएका थिए । संविधान सभाद्वारा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संबिधान निर्माणपछिको पहिलो प्रतिनिधिसभा थियो । त्यस कारण उसको पहिलो दायित्व र जिम्मेवारी कानुन निर्माण थियो । यसबीचमा संविधानमै तोकिए बमोजिम मौलिक हक कार्यान्वयनका लागि आवश्यक काननुहरू निर्माण भएका छन् । संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनका निम्ति आवश्यक कानुनहरु निर्माण भएका छन् ।

ढकाल कानुनमन्त्री भए । १८ साउन २०७५ मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भए । कानुन निर्माणको अगुवाई गरे । भन्छन्, ‘स्थानीय तहलाई सबल, सक्षम एवं क्रियाशील बनाउन वित्तीय, प्रशासनिक र कानुनी प्रबन्ध गरिएका छन् । संघ, प्रदेश र स्थानीय तहको आवश्यक सबै कानुन निर्माण भएका छन् । हाम्रो अधिकांश समय कानुन निर्माणमा बितेको छ । सांसदहरुको मुख्य काम कानुन निर्माण र नीति निर्धारण भए पनि जनताको अपेक्षा विकाससँगै जोडिएको हुन्छ ।’

कानुनपछि अप्ठ्यारो कालमा स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । त्यसबीचमा जिल्लाको भौतक पूर्वाधार, कृर्षि, पर्यटन, शिक्षा, खानेपानी, स्वास्थ्यलगायतको विकासको निम्ति उनले पहलकदमी गरे । भूमिहीनहरुको समस्या कानुन बनाएर सम्बोधनका लागि उनले निरन्तर प्रयास जारी राखे ।

भन्छन्, ‘कानूनमा व्यवस्था भएबमोजिम सरकारले मिति २०७७ बैशाख ०२ गते देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा भूमिसम्बन्धी समस्या समाधान गर्ने उच्चस्तरीय आयोग गठन ग-यो । आयोगले कानूनबमोजिम काम गरिरहेको समयमा वर्तमान देउवा सरकारले मिति २०७६ साउन १९ गते देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा बनेको आयोगलाई खारेज गर्ने निर्णय ग-यो । आयोगले निरन्तरता पाएको भए एक–दुई महिनाभित्रै केही जिल्लाहरुमा लालपूर्जा वितरण गरिसक्ने अवस्थामा आयोग थियो ।’ बनेको कानुनको आधारमा भूमिहिनहरुलाई कानुन बनाएर लालपूर्जा वितरण गर्नुपर्नेमा उनी दृढ छन् ।

Bhanubhakta Dhakal 2

उनको क्षेत्रको अर्को समस्या हो, नदी नियन्त्रण । मोरङ क्षेत्र नं. ३ मा मुख्यतः ४ वटा खोलाहरु रहेका छन् । बक्राहा, चिसाब, डाँस र लोहन्द्रा । यी चार वटै नदी कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाको नाममा बहुबर्षीय आयोजनामा समावेश भएका छन् । यसको लागि मात्रै ५९ करोड ११ लाख ४५ हजार विनियोजन गराए । सडक निर्माण र कालोपत्रेको लागि उनले उलेख्य बजेट लगे । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मात्रै ६४ करोड ९१ लाखभन्दा बढी ढकालले बजेट निर्वाचन क्षेत्रमा भित्र्याए । सिचाइका लागि ३७ करोड ४१ लाख ७० हजार, रु. ११ करोड ८९ लाख ३३ हजार, १३ करोड ३० हजार, स्वास्थ्यमा ३० करोड ३४ लाख ८०, भवन तथा जनता अवासमा ८ करोड ४२ लाख उनले लगे । उनले गएको ५ वर्षमा मात्रै १५ अर्ब ७८ लाख २७ हजार बजेट मोरङ लगे ।

स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार, कृषिलगायतका क्षेत्रमा उनले दर्जनौं आयोजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा लैजान सफल भए । भित्री कामहरु कुशलतापूर्वक गर्ने तर प्रचारमा उतिधेरै चासो दिंदैनन् उनी । निर्वाचन क्षेत्रमा धेरै बजेट र आयोजना आए पनि प्रचार हुन नसकेको स्थानीय पत्रकार अर्जुन राई बताउँछन् । भन्छन्, ‘हाम्रो क्षेत्रको श्रृंखलाबद्ध र दीर्घकालीन विकास आयोजना शुरु भएको छ । पर्याप्त बजेट आएको छ । तर उहाँले ल्याएको बजेट बारेमा प्रचार गर्न सक्नु भएन ।’ ढकाल निर्वाचित भएपछि स्थानीयहरुले माग गरे अनुसार पर्याप्त बजेट विनियोजना भएको पत्रकार राईको दाबी छ । भन्छन्, ‘पहुँच भएको नेता निर्वाचित हुँदा धेरै फरक पर्ने रहेछ ।’


अब समृद्धि
सुन्दर हरैचा– १२ मोरङका स्थायीवासी ढकाल २०३५ यता राजनीतिमा निरन्तर सक्रिय छन् । २०५३ सालमा अनेरास्ववियुको महासचिव भएपछि पार्टी राजनीतिमा आएका ढकालले पटक–पटक गरी ३ वर्ष बन्दी जीवन बताए । २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फबाट सभासद् ढकाल एमालेको प्रमुख सचेतक थिए । पार्टीको स्थायी कमिटी सदस्य रहेका ढकाल एमालेमा परिपक्व नेता मानिन्छन् । उनलाई कर्याकर्ताहरुले ‘लामो रेशको घोडा’ को रुपमा चिन्छन् ।

पार्टी संगठन, संसद र सरकार तिनै जिम्मेवारीमा कुशल भूमिका निर्वाह गरेका छन्, उनले । अब विकास र समृद्धिको अभियानमा मुलुक गएको र आफ्नो क्षेत्रलाई उदाहरणीय र उत्कृष्ट बनाउने उनको भनाई छ । भन्छन्, ‘अब शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा जानुछ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्नुछ  । अबको हाम्रो प्रमुख बाटो समृद्धि र विकासको बाटो हो ।’

संगठन, संसद र सरकारमा परिपक्व नेतृत्व गरेका ढकाल पार्टीमा पनि भोली नेतृत्व दाबेदारीको क्षमता राख्ने नेता हुन् । मोरङ मात्रै नभएर पूर्व क्षेत्रको उपल्लो तहका नेता हुन् । व्यवस्था परिवर्तनका सबै आन्दोलन र अभियानमा लड्दै यहाँसम्म आइपुगेका छन्, उनी । मोरङ क्षेत्र नं.-३ का मतदाताहरूले ‘लामो दौडको घोडा’ रोज्छन् या ‘हाताहाती’ को कुरा गर्ने व्यवसायी वा सेलीब्रेटी ? त्यो ४ मंसिर कुर्नु पर्नेहुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७