निर्वाचन बहिष्कार गर्ने समूहलाई सरकारले दियो कडा कारवाहीको चेतावनी


२ मंसिर २०७९, शुक्रबार
sachib

काठमाडौं । मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन बहिष्कारको गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने भन्दै गृह सचिव विनोदप्रकाश सिंहले त्यस्ता व्यक्ति र समूहमाथि निगरानी बढाएको बताएका छन् ।

गृह सचिव सिंहद्वारा आज (शुक्रबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा नेपाली सेना बलाधिकृत रथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको उपस्थित थियो । निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव सिंहले निर्वाचन बिथोल्न सक्ने समूह, दल र व्यक्तिहरूमाथि सुक्ष्म निगरानी राखिने जानकारी दिंदै यस्तो गतिविधिमा संलग्नमाथि कडा कारबाही हुने चेतावनी थिए ।

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले दल तथा आस्था झल्किने र आचारसंहिता विपरीतका गतिविधि गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने पनि उनले बताए । निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए । साथै निर्वाचन विरोधी गतिविधिमा आफूहरूले शून्य सहनशीलताको नीति अपनाएको सिंहले बताए ।

यसैबीच निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले देशभरका ९०३ स्थानमा बम डिस्पोजल टोली खटाएको गृहसचिव सिंहले जानकारी दिए । निर्वाचनविरुद्ध भौतिक क्षति लगायत गतिविधि गर्नेलाई निगरानी गर्न पनि सुरक्षा निकायलाई क्रियाशील पारिएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७