रविन्द्रलाई हराउँदै चौंथो पटक संसद प्रवेश गर्दै गरेका को हुन् प्रकाशमान ?


६ मंसिर २०७९, मंगलवार
Prakashman 1

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौंथो पटक विजयी भएका छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन् । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए ।

विसं २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मिभएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहे । सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्छन् ।

सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन् । सिंह उनका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित भएका हुन् । मिश्रले सात हजार ११ मत ल्याएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७