हुम्लामा चार दिनदेखि मतपत्र ‘अलपत्र’, १३६ मतपेटिका सर्केगार्डमा रोकिए


७ मंसिर २०७९, बुधबार
HUmla Mapetika 1024x576 1

हुम्ला । हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो ।
दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नपुग्दा मतगणना सुरु हुन नसकेको हो ।
जिल्लाका दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका मतपेटिकाका सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा ल्याइपु¥याएको छ । तर त्यहाँबाट हेलिकप्टरमा ढुवानी गर्नका लागि निर्वाचन आयोगसँग कुरा भइरहेका कारण मतपेटिका रोकिएका हुन् । सर्केगार्डबाट सदरमुुकाम सिमकोट पुुग्न डेढ दिन पैदल हिँड्नु पर्छ ।

सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकप्टरमा ढुवानीका लागि कुरा भइरहेको निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताए । उनका अनुसार आज दिउँसोसम्म मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ ।

सर्केगार्डमा ताँजाकोटका सात, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका ११ वटा मतदान केन्द्रका मतपेटिका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा निर्वाचनमा खटिएका कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र कर्मचारी गरेर ४९ जना बाटोमै रोकिएका छन् । न्यालु लेकमा हिउँ जमेकाले पैदल हिँडेर आउन समस्या हुने देखिएपछि उनीहरु पनि हेलिकप्टरको पर्खाइमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७